नोबेलमा विरामीको मृत्युपछि विरोधमा कोशी राजमार्ग अवरुद्ध

६ साउन ०७६, काठमाडौं । उपचारका क्रममा विरामीको मृत्यु भएपछि मृतकका आफन्तले कोशी राजमार्ग अवरुद्ध पारेका छन् ।

शुक्रबार नोबेल मेडिकल कलेज विराटनगरमा घुँडाको शल्यक्रिया गर्न भर्ना भएका सुनसरी दुहबीका ५१ वर्षका अनिलकुमार साहको आइतबार मृत्यु भएपछि मृतकका आफन्त तथा स्थानीयबासीले कोशी राजमार्गको दुहबी खण्ड अवरुद्ध पारेका हुन् ।

उपचारमा संलग्न चिकित्सकलाई कारवाही गर्नुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आफन्त तथा स्थानीयबासीले सोमबार बिहान ८ बजेदेखि कोशी राजमार्गको दुहबी खण्डमा प्रदर्शन गरेका छन् ।

आइतबार अस्पतालमा प्रदर्शन भएपछि अस्पताल प्रशासनले छलफलमा बोलाएर दुई लाख रुपैयाँ राहत दिने बताएको थियो । तर मृतकका आफन्तले मृतक परिवारका सन्तानलाई राजेगारीको ग्यारेन्टी र चिकित्सकलाई कारवाहीको माग गर्दै अस्पतालले बार्तामा नबोलाएसम्म चक्काजाम जारी राख्ने बताएकाछन् ।

देब्रे घुँडाको सामान्य शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि आइतबार अस्पतालमा प्रदर्शन गरेका आफन्तले शवसमेत उठाएका छैनन् । एशियन थाइ फुड्समा कार्यरत साह मोटरसाइकलको स्ट्याण्ड लगाउने क्रममा लडेर घाइते भएका थिए । उपचारका लागि नोबेल मेडिकल कलेजमा शुक्रबार भर्ना भएका उनको सोही दिन घुँडाको शल्यक्रिया भएको थियो ।

तपाइको मत