पकाहा मैनपुरका वडा अध्यक्ष कारागार चलान

८ कार्तिक ०७८, पर्सा । जिल्लाको पकाहा मैनपुर गाउँपालिका वडा नं. १ का अध्यक्षलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

लागू औषध खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका वडा अध्यक्ष ५५ वर्षीय अमेरिका सहनीलाई वीरगञ्ज कारागार पठाउन पर्सा जिल्ला अदालतले आदेश दिएको हो ।

प्रहरीले उनीसँगै वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम आदेश सहनीलाई समेत पक्राउ गरेको थियो ।

वडा अध्यक्ष अमेरिकासँगै राम आदेश पनि पुर्पक्षका लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनले वडा सदस्य बलिष्टर सहनीलाई भने एक लाख धरौटीमा छोड्न अदालतले आदेश दिएको बताए ।