पच्चीस बुँदेको विरोध गर्नेहरु नक्कली राष्ट्रवादी – परराष्ट्रमन्त्री

१८ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे विज्ञप्तिको एमालेसहितका दलले नेपालको हितमा नरहेको भनिरहेका बेला परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले उक्त विज्ञप्तिको विरोध गर्नेहरुलाई नक्कली राष्ट्रवादी भएको बताएका छन् ।

परराष्ट्रमन्त्री महतले राष्ट्रियता र राष्ट्रिय स्वार्थमा आँच आएको भनेर केही नक्कली राष्ट्रवादको हल्ला फिजाएको बताउँदै आफू सरकार बाहिर हुने वित्तिकै सस्तो लोकप्रियताको लागि यसरी विरोध गर्नु हाँस्यस्पद रहेको र विरोधको नाममा विरोध मात्रै भएको बताए ।

मंगलबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा परराष्ट्रमन्त्री महतले ‘पहिला पहिला भारतीय चलचित्र चल्न पनि दिनुहुँदैन भन्ने बाबुरामले आफू प्रधानमन्त्री हुँदा कुरा बुझेर भारतसँग विप्पा सम्झौता गरेको’ उल्लेख गर्दै भने, ‘समृद्धिको लागि स्वदेशी तथा विदेशी लगानी आवश्यक छ र लगानी सुरक्षित गर्नुपर्छ भन्ने पक्षमा हामी त पहिलादेखि नै थियौं । सार्क लगायत क्षेत्रीय संगठनलाई मजबुत बनाउने कुरा गर्दा किन यहाँ यत्रो हल्लाखल्ला ?’

परराष्ट्रमन्त्री महतले अन्तर्राष्ट्रिय विषयमा चीनसँग पनि धेरै समान धारणा रहेको भन्दै राष्ट्रियता र राष्ट्रिय स्वार्थको विषयमा कुनै कम्प्रोमाइज नगर्ने बताए ।

तपाइको मत