पत्रकारलाई चुनौती दिएका निगमका कार्यकारी निर्देशक खड्काले सांसदलाई पनि छाडेन !

१७ भदौ ०७४, काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिद घोटाला प्रकरणमा भएको छानबिनका क्रममा सांसद रामवीर मानन्धरले आफूमाथि सुरक्षा चुनौती थपिएको बताएका छन् ।

निगमको जग्गा खरिदमा भएको अनियमितता छानबिनका लागि स्थलगत अध्ययन गरेर राजधानी फर्किएका उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सांसद रामवीर मानन्धरले आफूमाथि सुरक्षा चुनौती थपिएको बताएका हुन् ।

यसअघि पत्रकारलाई चुनौती दिएका निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले घोटालाबाट उम्किन अरुलाई प्रयोग गरेर छानबिन अघि नबढाउन विभिन्न मान्छेमार्फत मनोवैज्ञानिक दबाब दिन थालेको सांसद मानन्धरले बताएका छन् ।

‘निगम घोटालाको छानबिन अघि बढाएपछि सुरक्षा थ्रेट भएको छ,’ उनले भने, ‘विभिन्न मान्छेमार्फत फोन गराएर अनावश्यक दबाब आइरहेको छ ।’

मानन्धरले जति दबाब आए पनि आफू आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताएका छन् ।

घोटालामा पूर्वआपूर्तिमन्त्रीको समेत संलग्नता !

मानन्धरसहित सांसद दीपक कार्की नेतृत्वको टोली छानबिनका लागि झापा र सर्लाही पुगेको थियो । सांसद सुभाषचन्द्र ठकुरी र जनक बुढा नेतृत्वको टोलीले चितवन र भैरहवामा अध्ययन गरेको थियो ।

मानन्धर र कार्कीले यो घोटालामा पूर्वआपूर्तिमन्त्री दीपक बोहोराको समेत संलग्नता रहेको नयाँ तथ्य सार्वजनिक गरेका थिए ।

लेखा समितिका सदस्यले गरे आपूर्तिमन्त्रीकै आलोचना

अनियमिततामा संलग्नलाई कारबाही गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका आपूर्तिमन्त्री शिवकुमार मण्डल चुप लागेर बसेको भन्दै संसद्को सार्वजनिक लेखा समितिका सदस्यले आपूर्तिमन्त्रीकै आलोचना गरेका छन् ।

लेखा समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीका लागि सिफारिस गरेर त्यसको बोधार्थ आपूर्ति मन्त्रालयलाई पठाएको थियो । प्रधानमन्त्री कार्यालयले पनि छानबिन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न दिएको निर्देशन कार्यान्वयन नभएपछि आपूर्तिमन्त्री मण्डलको समेत आलोचना भएको छ ।

निगमका कार्यकारी निर्देशक खड्काले निरन्तर अनियमिततालाई उजागर गर्दै आएको नागरिक दैनिकविरुद्ध क्षतिपूर्ति माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।

पत्रकारले लेख्दैमा जग्गा खरिद प्रक्रिया नरोकिने खड्काको दाबी

दुई हप्ता अघि अर्थात् २०७४ भदौ ३ गते पोखरामा पेट्रोलियम ढुवानी व्यवसायी महासंघको १२ औं साधारणसभा  तथा छैठौं महाधिवेशनको उद्घाटनमा बोेल्दै निगमका कार्यकारी निर्देशक खड्काले पत्रकारले नकारात्मक कुरा लेख्दैमा आयल निगमको जग्गा खरिद प्रक्रिया नरोकिने दाबी गरेका थिए ।

उनले भनेका थिए, ‘पत्रकार साथीहरु यहाँ हुनुहुन्छ, तपाईंहरुले आज पनि लेख्नुस्, कत्रो अक्षरमा लेख्न सक्नुहुन्छ लेख्नुस् । निगमले ५ वर्षभित्र स्टोरेज बनाएरै छाड्छ । हामीलाई सरकारको निर्देशन छ ।’

उनले कार्यक्रममा इन्धन भण्डारण बनाउन आफू बलिदान दिन पनि तयार रहेको बताएका थिए । ‘स्टोरेज बन्छ, बनाउनुपर्छ र त्यो जसरी पनि बनाइने छ,’ उनले भने, ‘त्यसको लागि ज-जसले बलिदानी दिनु परे पनि दिउँला ।’

तपाइको मत