१४ असार ०७७, बुटवल । आफैँले चलाएको कार दुर्घटनामा परेर पत्रकार कृष्णबाबु पाण्डेको निधन भएको छ ।
प्रदेश ५ प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले गएराति रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोलका ३० वर्षीय पत्रकार पत्रकार पाण्डे आफैँले चलाएको कार दुर्घटनामा परेर मृत्यु भएको जानकारी दिए ।
प्रहरीले बा ७ च ६९५९ नम्बरको कार चलाएर बुटवलबाट आफ्नो निवास ड्राइभरटोलतर्फ जाँदै गर्दा राति करिब ११ बजे सडक छेउको रेलिङमा ठोक्किँदा गम्भीर घाइते न्युज २४ टिभीमा कार्यरत पत्रकार पाण्डेको १२ः४५ बजे बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा निधन भएको बताएको छ ।
पाण्डेको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र कार पूर्णरुपले क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
पत्रकार पाण्डेको शव परीक्षणका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।