७ असार ०७६, कैलाली । नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले मिडिया विधेयकविरुद्ध अन्तर्राष्ट्रिय मिडिया मिसन ल्याउने चेतावनी दिएका छन् ।
महासचिव बिष्टले शुक्रबार धनगढीमा आयोजित नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम साधारण सभामा बोल्दै सरकारले आफ्नाविरुद्ध पत्रकारले नलेखोस् भनेर मिडिया विधेयक ल्याउन लागेकाले विधेयकविरुद्ध अन्तर्राष्ट्रिय मिडिया मिसन ल्याउने चेतावनी दिएका हुन् ।
सुनियोजित रुपमा गलत समाचार लेख्ने पत्रकारलाई महासंघ कानुनअनुसार कारवाही गर्नुपर्ने पक्षमा रहेको भन्दै उनले मिडिया विधेयकविरुद्धमा संयुक्त राष्ट्रसंघसँग छलफल चलिरहेको बताए ।
सरकारले संविधानको मर्म र भावना विपरीत समाचार लेखेकै कारण पत्रकारलाई ज्यान मार्ने अपराधीलाई भन्दा बढी जेल सजायको व्यवस्था गरेको भन्दै विष्टले मिडिया विधेयक फिर्ता नलिए अन्तरर्राष्ट्रिय मिडिया मिसन ल्याउनुको बिकल्प नरहेको बताए ।














