८ बैशाख ०७४, काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौंमा लागेको ताला ९ दिनपछि खुलेको छ ।
विधानसम्मत तरिकाले शाखाको अधिवेशन सम्पन्न गर्नु पर्ने लगायतका माग राखेर गत चैत्र ३० गते सप्तरीका क्रियाशील पत्रकारहरुले लगाएको ताला बिहीबार पाँच बुँदे सहमति पश्चात् खुलेको हो ।
नेपाल पत्रकार महासंघ र संघर्ष समिति बीच भएको पाँच बुँदे सहमतिंअनुसार आगामी बैशाख २० गते शाखा सप्तरीको अधिवेशन सम्पन्न गर्ने, सप्तरी शाखाका बाँकी रहेका सबै सदस्यहरुको नवीकरण गर्ने सहमति भएको छ ।
यसैगरी नयाँ सदस्यका लागि आवेदन दिएका सबै पत्रकारहरुको सप्तरी शाखा कार्य समिति बैठकबाट सहमतिमा विधानसम्मत निर्णय गरी केन्द्रीय समितिमा सिफारिस गरेपछि मात्र हुने सहमति भएको छ ।
त्यस्तै सदस्यता विवादले अधिवेशन नरोकिने लगायतको सहमति भएपछि महासंघ केन्द्रीय कार्यालयमा लागेको ताला खुलेको आन्दोलनका अगुवा श्रवणकुमार देवले बताए ।
सहमति सार्वजानिक पश्चात् बोल्दै महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्टले महासंघ र संघर्ष समिति बीच भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष विष्टले पत्रकार महासंघ सबैको साझा संगठन भएकाले कसैले पनि हीनताबोध नगरी पत्रकारहरुको हकहितमा लाग्न सबैलाई आग्रह गरे ।