२० बैशाख ०७४, काठमाडौं । आसन्न बैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तहको निर्वाचनमा उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको समाचारलाई आज प्रकाशित दैनिक पत्रपत्रिकाहरुले प्रमुखताका साथ पहिलो पृष्ठमा स्थान दिएर प्रकाशित गरेका छन् ।
गोरखापत्र दैनिकले उम्मेदवारी दर्ता शान्तिपूर्ण, अख्तियारको प्रमुखमा दीप बस्न्यात सिफारिस, आइजीपी नियुक्ति विवादको सुनुवाई स्थगित लगायतका समाचारलाई फ्रन्टपेजमा खबर बनाएको छ ।
अन्नपूर्णपोष्ट दैनिकले उम्मेदवारी उत्साहपूर्ण, राजनीतिक हस्तक्षेपले फैसला प्रभावित, कान्तिपुर दैनिकले उम्मेदवारी दर्ता उल्लासपूर्ण, नयाँ पत्रिका दैनिकले देश जुट्यो निर्वाचनको उत्सवमा, पहिलो चरणको निर्वाचनमा ८० हजार सुरक्षाकर्मी लगायतका शीर्षकमा फ्रन्टपेज समाचार पस्किएका छन् ।
तीन प्रदेशका चार महानगर, एक उपमहानगर, ९२ नगरपालिकासहित २ सय ८३ स्थानीय तहमा मंगलबार शान्तिपूर्ण एवं उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको छ ।