१० बैशाख ०७४, काठमाडौं । स्वास्थ्य मन्त्रालयले कास्की जिल्लाको पोखरास्थित मणीपाल शिक्षण अस्पतालसँग स्पष्टीकरण माग गरेको छ ।
शनिबार मुस्ताङको कागबेनीमा भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मिक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले चासो राख्दै पत्र बुझेको २४ घण्टा भित्र स्पष्ट कारण र आधारसहित स्पष्टीकरण पेस गर्न अस्पताललाई निर्देशन दिएको हो ।
संवैधानिक तथा कानुनी दायित्व उल्लघन गरेकाले त्यस संस्थालाई प्रचलिन कानुन बमोजिम किन खारेजीसम्मको कारबाही नगर्ने भनेर मन्त्रालयले मणीपाल शिक्षण अस्पताललाई स्पष्टीकरण पत्र पठाएको छ ।
स्वास्थ्य मन्त्रालयले घटनाको छानविन गर्न चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा वीर अस्पतालका डा ढुण्डीराज पौडेल र मन्त्रालयका उपसचिव भवनाथ खतिवडा रहेको तीन सदस्यीय छानविन समिति पनि बनाएको छ ।
समितिलाई तिन दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
शिक्षण अस्पताल शिक्षा मन्त्रालय मातहतमा पर्ने भए पनि शिक्षण अस्पतालले जनस्वास्थ्यमा खेलवाड गरेकाले स्वास्थ्य मन्त्रालयले अग्रसरता लिनु परेको मन्त्रालयले स्पष्ट पारेको छ ।
स्वास्थ्य मन्त्रालयले संविधानको धारा ३५ उपधारा १ मा प्रत्येक नागरिकलाई अकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भन्ने संवैधानिक व्यवस्था विपरीत त्यहाँका चिकित्सकहरुले घाईतेहरुलाई आकस्मिक सेवा नदिएकाले स्पष्टीकरण मागिएको जनाएको छ ।
त्यसैगरी अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ बमोजिम स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले स्वास्थ्य सेवा प्रवाह गर्ने ठाउमा बन्द हडताल गर्न नपाइने भएकाले उनीहरुले कानुनको उल्लघन गरेको पनि मन्त्रालयको ठहर छ ।