परराष्ट्रमन्त्रीलाई समितिमा बोलाएर छलफल गरौं – सांसद भुसाल

८ साउन ०७७, काठमाडौं । सांसदहरुले संसदीय समितिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) बारे छलफल हुनुपर्ने माग गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण सम्बन्धी भएको छलफलमा बिहीबार सांसदहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नक्सामा समेटिएको तर भारतीय फौज रहेको विषय परराष्ट्र मन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने माग राखेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भीम रावलले सीमाबारे भारतसँग भएका प्रगतिबारे भनेर परराष्ट्रमन्त्रीलाई बैठकमा बोलाएर छलफल गर्नुपर्ने बताए ।

यस्तै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सीमा र अमेरिकी परियोजना ‘मिलेनियम च्यालेन्ज सम्झौता (कक्प्याक्ट)’ का विषयमा व्यापक जनचासो रहेकाले यसबारेमा छलफल गर्नुपर्ने माग गरिन् ।

‘हरेक पटक विदेश नीतिको कुरा गर्छौं । कालापानीको कुरा गर्छौं । एमसीसीको कुरा गर्छौं । यसबारे के भइरहेको छ भन्ने जनतामा पनि चासो छ,’ उनले भनिन्, ‘परराष्ट्रमन्त्री बाहिर–बाहिर बोल्दै हिँड्नुभएको छ । समितिमा बोलाएर सोधौं, छलफल गरौं ।’