परराष्ट्रमन्त्री चीन भ्रमण सकेर स्वदेश फर्किए

२६ साउन ०७९, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

यही साउन २४ गते चीन भ्रमणमा गएका परराष्ट्रमन्त्री खड्का आज स्वदेश फर्किएका हुन् ।

उनले चीन भ्रमणका क्रममा आफूले एक चीन नीतिप्रति नेपाल प्रतिबद्धता रहेको बताएका छन् ।

नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाउँदै उनले आफ्ना समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा यस्तो बताएका हुन् ।

स्वदेश फर्केसँगै उनले जारी गरेको प्रेस नोटमा भनिएको छ, “मैले मेरो समकक्षीलाई एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको बताउँदै हाम्रो भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको छु ।”

यस्तै उनले चिनियाँ समकक्षीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निशर्त समर्थन रहेको बताएका बताएका छन् ।