२९ बैशाख ०७४, काठमाडौं । निर्वाचन आयोगले परिचय खुल्ने कुनै सरकारी कागजातका आधारमा मतदान गर्न दिने निर्णय गरेको छ ।
मतदाता परिचय पत्रमा प्राविधिक समस्या देखिएपछि आयोगले शुक्रबार वैकल्पिक व्यवस्था गर्ने निर्णय गरेको हो ।
आयोगका सचिव गोपीनाथ मैनालीले बीबीसी नेपाली सेवासँग भनेका छन्, यदि नागरिकता, राहदानी सवारीचालक ईजाजतपत्र, जग्गाधनी प्रमाण पुर्जा, सामजिक सुरक्षा कार्ड जस्ता फोटो भएको परिचयपत्र छ भने त्यसको आधारमा पनि मतदान गर्न पाउने निर्णय गरेका छौं।’
मतदाता नामावलीमा नाम भएको तर, परिचयपत्रमा नाम फरक परेको, फोटो अर्काको परेको, छाप्न छुटेकाहरुले यो सुविधा लिन सक्ने आयोगले जनाएको छ ।
त्यस्तो सुविधा लिने व्यक्तिको नाम अनिवार्य रुपमा मतदाता नामावलीमा हुनु पर्नेछ ।
निर्वाचन आयोगले बैशाख २८ गतेदेखि ३० गतेसम्म मतदाता परिचयपत्र वितरण गर्दैछ ।