परोहा नगरपालिकाले कोरोना सहयोग रकम अनियमितता गरेको स्थानीयको आरोप

प्रेमचन्द्र झा/रौतहट । परोहा नगरपालिकाले कोरोना पीडितलाई सहयोग गर्न दिएको अनुदान रकममा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन ।

उक्त नगरपालिकाले २ बर्ष आगाडि कोरोना पीडितलाई सहयोग रकम वितरण गर्न एक सहकारी संस्थालाई दिएपनि हालसम्म सबैले रकम नपाएको भन्दै स्थानीयले अनियमितता भएको दाबी गरेका हुन ।

स्थानीय अमिन्द्र यादवले दिएको जानकारीअनुसार पालिकामा क वर्गका बैंक हुँदाहुँदै पनि नगरपालिकाले सहकारी संस्थाको खातामा रकम पठाई नगर प्रमुख शेख वकिलले नियतवश भ्रष्टाचार गर्न खोजेको आरोप लगाए ।

नगरप्रमुख र पुजनीय सहकारी संस्थाले रकम हिनामिना गर्न खोजेको आरोप लगाउदै स्थानीय सतेन्द्र प्रसाद यादवले बुधबारसम्म वास्तविक कोरोना पीडितलाई रकम वितरण नगरे नगरपालिका घेराउ गर्ने बताए ।

कोरोना पीडितका लागि भनेर आएको सहयोग रकम २ वर्षदेखि वितरण नगर्नु नीतिगत अनियमितता रहेको यादवले बताए ।

परोहा नगरपालिकामा नेपाल सरकारले कोरोना पीडितलाई सहयोग गर्न सशर्त अनुदान शिर्षकमा ९० लाख रुपैया पठाएको थियो । नगर प्रमुख शेख वकिलले सबै वडामा रकम बितरण भइरहेको दाबी गर्दै अब ३० लाख रुपैयाँ मात्र वितरण गर्न बाँकी रहेको बताए ।