११ असार ०८०, कास्की । गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले पर्यटकीय गन्तव्य नेपाललाई आर्थिकस्तरमा विकास गरी आय आर्जनमा रूपान्तरण गर्नु चुनौतीपूर्ण रहेको बताइन् ।
अखिल नेपाल पर्यटन मजदुर संघले नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटन क्षेत्रमा क्रियाशील श्रमजीवी मजदुरहरुका लागि आयोजना गरेको ३ दिने म्याप रिडिङ एण्ड नेभिगेशन तालिममा यस्तो बताएकी हुन् ।
मन्त्री सिम्खडाले देशकै आर्थिक आधारका रुपमा रहेको पर्यटकीय गन्तव्य नेपालको हिमाल, पहाड र तराईका विविधतायुक्त भूगोल, धार्मिक तथा साँस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्न नसक्दा सम्भावना बोकेको क्षेत्र चुनौतिपूर्ण बनेको समेत बताइन् ।
“पर्यटन क्षेत्रका उपलब्धिलाई मूल्याङ्कन गरी दिगो विकासका कार्यक्रमहरू शुरु गर्न सकिएको छैन्,” मन्त्री सिम्खडाले भनिन्, “सम्भावना बोकेको चुनौतिपूर्ण पर्यटन, यस क्षेत्रमा क्रियाशील संगठन र श्रमजीवी गाइडहरुलाई गण्डकी प्रदेश सरकारको तर्फबाट प्राथमिकता दिई अभिभावकीय भूमिका खेल्ने विश्वास दिलाउन चाहन्छु ।”
मन्त्री सिम्खडाले प्रदेश सरकारलाई सफल बनाउन सक्ने पर्यटन विकासका सम्भावना र अवसरहरू उपयुक्तस्तरमा विकास गरी आय आर्जनमा रूपान्तरण गर्नु पर्नेमा जोड दिइन् ।
यस्तै अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज एसबी थापामगरले म्याप रिडिङ एण्ड नेभिगेशन तालिमपछि प्रशिक्षार्थी गाइडहरु म्याप टु ग्राउण्ड, ग्राउण्ड टु म्याप गर्न सक्नुका साथै सही तरिकाले आफ्नो स्थिति पत्ता लगाई योजना बनाएर मार्ग पत्ता लगाउन सफल हुने विश्वास व्यक्त गरे ।
उपाध्यक्ष थापाले संसारका विभिन्न देशबाट आउने पर्यटकसँग यस क्षेत्रमा क्रियाशील नेपाली श्रमिक गाइडहरुले गर्ने व्यवहारले देश र जनताको परिचय दिने भएकाले अतिथिलाई विशिष्ट सम्मान र शिष्टता प्रदर्शनमा कन्जुस्याँइ गर्न नहुने बताए ।
उनले सुशासन, समृद्धि र आर्थिक विकासको एक मुख्य आधार पर्यटन पनि भएकाले यस क्षेत्रको प्रबद्र्धनमा सरकारले प्राथमिकता दिई दक्ष गाइडहरु उत्पादनमा एडभान्स प्रशिक्षणहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
अखिल नेपाल पर्यटन मजदुर संघका केन्द्रीय अध्यक्ष धनबहादुर तामाङले तीन दिन चल्ने प्रशिक्षणमा दक्ष प्रशिक्षकहरुबाट ५० जना प्रशिक्षर्थी गाइडहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने बताए ।
सामाजिक विकास मन्त्री सुशीला सिम्खडाको प्रमुख आतिथ्य, अन्टुफ केन्द्रीय उपाध्यक्ष एसबी थापामगरको विशेष आतिथ्य साथै अन्टुफ गण्डकीका उपाध्यक्ष भोजराज खत्री, सचिव गुणराज बास्तोला, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, गण्डकी प्रदेशमा क्रियाशील पर्यटन व्यवसायीहरुको विशेष आतिथ्य रहेको उक्त तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता अखिल नेपाल पर्यटन मजदुर संघ गण्डकी प्रदेशका अध्यक्ष विष्णु पौडेलले गरेका थिए ।