२५ जेठ ०७५, काठमाडौं । शुक्रबार बिहानै अविरल वर्षासँगै खसेको पहिरोले उत्तर-दक्षिण जोड्ने सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्गको दोभान सिद्धबाबा झरना क्षेत्र र हेडबक्समा पहिरो खसेको हो । राजमार्गको सिद्धबाबा क्षेत्रमा ठूला ढुंगा खसेकाले वर्षा रोकिनासाथ हटाउन सुरु गरिने दोभान प्रहरी चौकीले जनाएको छ ।
झरना नजिकै ढुंगा खसेपछि एक टिपर पहिरोमै अड्किएको छ । चालक सकुसल उद्धार गरिएको ट्राफिक प्रहरी कुलबहादुर श्रेष्ठले बताए ।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि बुटवलतर्फबाट आएका साना सवारी साधन बुटवलतिरै फर्केका छन् । पहिरो खसेको थाहा पाउनासाथ डोजर र लोडर मगाएको तर वर्षा नरोकिएकाले समस्या आएको प्रहरीले जनाएको छ ।
सडकमा पहिरो खसेपछि स्याङ्गजा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची, जिल्लाकै विभिन्न स्थानबाट बुटवल हिडेका र बुटवलबाट यसतर्फ आएका अधिकांश सवारी साधन बाटोमै रोकिएका छन ।