पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्रले मुलुकमै पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ । केन्द्रमा भक्तपुरका ३६ वर्षीय बलराम नागाको कलेजो प्रत्यारोपणमा उनकी दिदी ४१ वर्षीया सानुमाया लागेजुले कलेजो दान गरेकी थिइन् ।

स्वास्थ्य मन्त्रालयले ल्याएको मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणसँगै मस्तिष्क मृत्यु भएकाहरूको आठ वटा अंग लिने र प्रत्यारोपण गर्ने बाटो खुला गरेपछि हालको प्रत्यारोपण सम्भव भएको हो ।

अब मुटु र फोक्सो प्रत्यारोपणको लक्ष्य लिइएको केन्द्रले जनाएको छ । हाल मुलुकमा बर्सेनि करिब एक हजार जनाको कलेजो फेल हुने आकलन विज्ञहरूको छ ।

दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका पाँच जना विशेषज्ञको सहयोगमा कलेजो प्रत्यारोपण गरिएको थियो ।
शल्यक्रियामा केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा डा.मोहनदेव भण्डारी, डा.प्रवीण जोशी, डा.सम्पूर्णमान तुलाधर संलग्न थिए । यस्तै एनेस्थेसिया र सघन उपचारमा डा.सुवास आचार्य, डा.आरती राई, डा.महालक्ष्मी देउजा, डा.किरण अधिकारी, डा.सन्दीप भण्डारी र डा.मिलन थापा थिए । पेट र कलेजो विशेषज्ञहरूको नेतृत्व डा.दीपेश गुरुवाचार्य र डा.नीरज जोशीले गरेका थिए । नर्सिङ टोलीको नेतृत्व इन्दिरा प्रधानले गरेकी थिइन् भने कलेजो रोग विशेषज्ञ डा.दिलीप शर्मा, डा.सुधांसु केसी, डा.अनन्त श्रेष्ठ, डा.विनीता जोशीले सहयोग गरेका थिए ।

मृगौला प्रत्यारोपण सुरु गरेको तीन वर्षपछि केन्द्रमा चिकित्सा विज्ञानमा धेरै जटिल मानिएको कलेजोको प्रत्यारोपण सुरु भएको हो ।

तपाइको मत