पाँचथरमा ९ जनाको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या

७ जेठ ०७६, काठमाडौं । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा २ परिवारका नौ जनाको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको छ ।

अज्ञात समूहले सोमबार मध्यराति ससुरा बमकुमार फियाक (लिम्बु) का ४ जना र उनका ज्वाइँ धनराज शेर्माका परिवारका ५ को हत्या भएको प्रहरीले जनाएको छ । फियाक र शेर्मा परिवारको घरको दुरी करिब डेढ–दुई किलोमिटर टाढा छ ।

मृत्यु हुनेमा ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, ३६ वर्षीया जसिता फियाक, २६ वर्षीया मनकुमारी फियाक, ज्वाइँ ४१ वर्षीय धनराज शेर्मा, १३ वर्षीया योवना शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, ८ वर्षीया मुना शेर्मा, १२ वर्षीया आशिका खजुम रहेको छन् ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छिन् । उनको हात भाँचिएको छ । उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि प्रहरीको भ्यानमा राखेर फिदिम ल्याइएको छ ।

घटनाकी प्रत्यक्षदर्शी सिताले अनुसन्धानको क्रममा प्रहरीलाई मुकुन्डो लगाएका एक समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरिएको बताएकी छिन् ।

घटना राति घटेपनि स्थानीयले बिहान मात्रै थाहा पाएका थिए । घट्नास्थलमा दशमी बजार स्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेका थिए । घटनाको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको प्रहरीको भनाई छ ।

तपाइको मत