१३ साउन ०७४, काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतका पाँच जना न्यायाधीशको संयुक्त इजलासले पनामा पेपर्स प्रकरणमा शुक्रबार प्रधानमन्त्री नवाज शरीफविरुद्ध फैसला सुनाएको छ ।
न्यायधीश आसिफ सईद खान खोसा, गुलजार अहमत, एजज अफजल खान, इजाज–उल अहसान र शेख अजमत सइदको संयुक्त इजलासले प्रधानमन्त्री नवाज शरीफविरुद्ध फैसला सुनाएको हो ।
सर्वोच्च अदालतले सार्वजनिक पदका लागि अयोग्य ठहर गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको पाँच वर्षे पूर्णकार्यकाल पूरा गर्न एक वर्ष बाँकी छँदै शरीफ पद छाड्न बाध्य भएका छन् ।
पनामा पेपर्सले नवाज शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेको थियो । त्यसैलाई टेकेर उनीविरुद्ध विपक्षी दलका नेता इमरान खानलगायतले अदालतमा मुद्दा दायर गरेका थिए ।
सोही मुद्दामा पाँच सदस्यीय पूर्ण इजलासले सर्वसम्मत रुपमा प्रधानमन्त्री शरीफ, उनकी छोरी र छोरी ज्वाइँलाई दोषी ठहर गरेको छ । शरीफ परिवारले कालो धन राखेको आरोप अस्वीकार गर्दै आएको छ ।