धनबहादुर मगर/ काठमाडौं । अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रको तेस्रो पूर्ण बैठक राजधानीमा सम्पन्न भएको छ ।
नेपाल सरकारका पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा शनिबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तेस्रो पूर्ण बैठक राजधानीमा बसेको हो ।
बैठकमा अध्यक्ष प्रचण्डले अखिल नेपाल किसान महासंघ आफ्नो लागि जन्मस्थल जतिकै भएको बताए ।
‘मलै तत्कालीन अवस्थामा किसान संघ मार्फत नै पार्टीको कार्यक्रम गर्ने गरेको थिएँ । अहिले किसान संघ र कृषिको महत्व घटेको छैन, बरु बढेको छ । तीनै पुस्ताको सहभागिता संगठनमा (थ्री वान) देखिएको छ,’ उनले भने ।
कृषि देशको अर्थतन्त्रको आधार रहेको र नीति तथा कार्यक्रम बनाउँदा कृषिसँग सूचना तथा सञ्चार प्रविधिलाई पनि जोड्नु पर्नेमा प्रचण्डले जोड दिए ।
उनले १२३ वटा स्थानीय सरकार माओवादीको नेतृत्वमा रहेको र माओवादीले स्थानीय सरकार चलाएको स्थानमा राम्रो काम भएको पनि बताए ।
‘सुशासनको हिसाबले ७५३ वटै पालिका मध्ये राप्ती गाउँपालिका तेस्रो, धादिङ्गको वेनीघाट गाउँपालिका पहिलो, गुल्मीको रुरु गाउँपालिका दोस्रो स्थान आउन सफल भएको छ,’ उनले भने, ‘तीनैवटा पालिकाको सरकार माओवादी पार्टीले नेतृत्व गरेको र सुशासनको आधारमा पनि अब्बल बन्न सफल भएको छ ।’
अध्यक्ष प्रचण्डले फागुन ९ गते १२३ वटै पालिका प्रमुख र उप–प्रमुखसँग बसेर १२३ वटै सरकारलाई राम्रो काम गर्ने आधार तयार गर्न थप निर्देशनसहित अगाडि बढ्ने पनि बताए ।
‘मलाई विश्वास छ तपाईंहरुको ठूलो भुमिका हुन्छ । कृषिको माध्यमबाट स्थानीय तहमा समाजवादको आधार तयार गर्ने अवसर आएको छ ।
अध्यक्ष प्रचण्डले फागुन १२ देखि हुलाकी राजमार्ग तराई, मध्यपहाडी लोकमार्ग पहाड र हिमाली राजमार्गमा पार्टीको अभियान लिएर निस्कने बताए ।
पूर्वबाट पश्चिम, पश्चिमबाट पूर्व र अन्तमा काठमाडौंंमा विशाल जनसभा गरिने बताए ।
उनले माओवादीले लिएको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिवद्धता, सुशासन कायम गर्ने र भ्रष्टाचार विरुद्ध थालनी गरेको अभियानका कारण काँग्रेस र एमाले आत्तिएको पनि बताए ।
‘सामाजिक सुरक्षा, भ्रष्टाचार उन्मूलन, आर्थिक संकट समाधान गर्ने योजना बनाएका छौंं,’ उनले भने, ‘घाइते, बेपत्ता, गरिब परिवारसँग घनिष्ट सम्बन्ध बनाऔं । पार्टीको मूल स्पिरीटको योजना बनाउनु होला । नयाँ सफलता हेर्न चाहन्छु । मलाई हेर्नु होला, म दिनरात काम गरिरहेको छु ।’