९ बैशाख ०७६,, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको फलामे ढोका फोरेको टिप्पणी गरेका छन् ।
सोमबार नेकपाको जिल्ला कमिटीका अध्यक्ष र सचिवहरूको घोषणा गर्न राजधानीमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले एकताको मुख्य गाँठो जिल्लाको नेतृत्व चयनमै भएकोले पार्टी एकताको फलामे ढोका फोरेको टिप्पणी गरेका हुन् ।
‘हामीले फलामे ढोका फोडेका छौँ । गाँठो त्यहीँ परेको थियो’, प्रचण्डले भने ‘मुख्य गाँठो फुक्यो । अब अरु सजिलै फुक्छ ।’
उनले पार्टी एकता टुंग्याउन विभिन्न कार्यदल बनाए पनि गाँठो झन् कस्सिदै गएको भन्दैपछि पुरानै ठाउँमा फर्किएर एकता प्रक्रिया पूरा गरेको बताए ।
‘हिजो राम्रो गर्छौ भन्दाभन्दै गाँठो कस्सिदै गयो । राम्रो गरौं भनेर कार्यदल बनायौं, झन् गाँठो कसिदै गयो । बरु पहिलेकै ठाउँमा जाउँ, जे छ त्यसलाई जस्ताको तस्तै आत्मसात गरौं भनेर यो ठाउँमा आयौं ।’
अध्यक्ष प्रचण्डले पार्टी एकता रोक्न बाह्य र आन्तरिक शक्तिहरु लागि परेको बताउँदै राम्रो र छिटो गर्छु भन्दाभन्दै गाँठो कसिएकाले अलिकति ढिला हुन पुगेकोमा कार्यकर्ताहरुसँग क्षमा मागे । उनले गुटगत स्वार्थ हेरेको भए एकता प्रक्रिया सम्भव नहुने दावी गरे ।
त्यस्तै, दाहालले पार्टी एकताको विषयमा वोल्दै उनले ८ महिनामा ७७ जिल्ला र प्रवास कमिटीको अधिवेसन सक्ने बताउदै १ वर्षमा महाधिवेसन गर्ने बताए ।













