पीडितहरुले काटे मिटरब्याजीले हडपेको खेतको धान

२२ मंसिर ०८०, सिरहा । मिटरब्याजीले हडपेको साढे एक विगहा खेतको धान पीडितहरुले काटेका छन् ।

सिरहा नगरपालिका– १९ सन्हैठामा योगिन्द्रप्रसाद यादवले ऋणी रामसोगारथ यादवको ३० कठ्ठा खेत हडपेर रोपेको धान बिहीबार तीन सयभन्दा बढी मिटरव्याज पीडितहरुले भेला भएर काटेका हुन् ।

ऋणी रामसोगारथका छोरा शोभित यादवका अनुसार धान काटेर भित्र्याउने योजना बुधबार जिल्ला प्रहरी कार्यालयमा बनेको थियो ।

जोगी भनिने योगिन्द्रप्रसाद यादवले रामसोगराथको जग्गा कात्तिक ११ गतेभित्र फिर्ता गर्ने भनी जिल्ला प्रशासन कार्यालयमा प्रतिवद्धता जनाएका थिए ।

‘कात्तिक ११ गतेभित्र हाम्रो जग्गा फिर्ता गरिदिने प्रतिबद्धता प्रशासनमै गरेका थिए । त्यसअघि पनि कयौंपटक छलफल परपञ्चायत भयो । तर मानेनन’, शोभित भन्छन् ‘बिहीबार जिल्ला प्रशासनमै मिटरब्याज पीडितबीच अचानक योजना बन्यो । अनि भोलिपल्ट करिब तीनसय जना जम्मा भएर डेढ विघाको धान काटेर हाम्रो घरमा भित्र्याउन सहयोग गरे ।’

शोभितका अनुसार उनका बुबा रामसोगारथले २०६३ सालमा गोलबजारमा इँटा उद्योग सञ्चालन एक लाख रुपैयाँ ऋण लिएका थिए । सयकडा ३ रुपैयाँ ब्याजदरमा एक लाख लिएकामा जोगीले ४ लाखको तमसुक बनाएका थिए ।