८ माघ, काठमाडौं । पूर्वहरूकाे एक भेलाले तीनवटै तहको निर्वाचन एक वर्षभित्र सम्पन्न गर्न सरकार र दलहरूलाई दबाब दिने निष्कर्ष निकालेका छन् ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमुख्यसचिव विमल कोइराला, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र नीलकण्ठ उप्रेती, पूर्वन्यायाधीश कृष्णजंग रायमाझी र टोपबहादुर सिंह, पूर्वसचिव कृष्ण पोखरेल, संविधानका जानकार नीलाम्बर आचार्यलगायत व्यक्तिले शुक्रबार राजधानीमा भेला गरी तीनै तहको निर्वाचन नभए संवैधानिक र राजनीतिक संकट निम्तिने भन्दै सरकार र दललाई खबरदारी गरेका हुन् ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानसभाबाट बनेको संविधान मूल्यवान् भएको उल्लेख गर्दै मुलुकलाई निकास दिनुपर्ने बताए ।
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले समयका हिसाबले एक वर्ष भए पनि निर्वाचनका दृष्टिकोणले १० महिनामात्र बाँकी रहेको भन्दै सरकार र दललाई दबाब दिने बेला आएको बताए ।
दलहरूले संसद्को म्याद थप्ने सोचाइ बनाएको भए त्यो मुलुकका लागि दुर्भाग्य हुने दाबी उनले गरे।