पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

२७ भदौ ०८२, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन् ।

यही भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि आज शुक्रबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकार संघीय गणतन्त्र नेपालको प्रथम महिला प्रधानमन्त्री भएकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्की प्रधानमन्त्री नियुक्त भएसँगै शीतल निवासमा पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

राष्ट्रपतिको कार्यालयका उपसचिव रूपेश जंग थापा मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधान बमोजिम राष्ट्रपतिका अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्न आवश्यक भएकोले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिवन्धात्मक व्यवस्था बमोजिम ६ (छ) महिनाभित्र प्रतिनिधि सभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी श्री सुशिला कार्की, मोरङलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।”

उक्त विज्ञप्तिमा राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको उल्लेख छ ।