१९ असार ०७६, काठमाडौं । सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले आत्मसमर्पण गरेका छन् ।
फैसलाको दुई वर्षसम्म ‘फरार’ रहेका उनले बिहीबार सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका हुन् । सर्वोच्चले उनलाई फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पठाएको छ ।
२०७४ वैशाख १६ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडानको डार्फर मिसनमा भएको भ्रष्टाचार प्रकरणमा तीन पूर्वआईजीपीसहित नौजनालाई जेल सजायको फैसला सुनाएको थियो ।
ठकुरीबाहेकका पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) दिपकसिंह थाङदेन, पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक श्रेष्ठहाल डिल्लीबजार सदरखोर थुनामा छन् ।
पूर्वप्रहरी प्रमुख राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको थियो भने ठकुरी र गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना फैसला भएको भएको थियो ।
सुरक्षाकर्मीका लागि गुणस्तरहीन सामग्री खरिद गर्न २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैयाँ ३० पैसा भुक्तानी दिलाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वआईजीपी र ठेकेदारसहित ३६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।













