पैसाले चुनाव जित्नेहरुले जनताको काम गर्दैनन् – प्रचण्ड

२६ भदौ ०७४, रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको भोट पैसामा किनेर चुनाव जित्नेहरुले चुनावपछि भ्रष्ट्राचार गर्ने बताएका छन् ।

रौतहटको चन्द्रपुरमा आइतबार आयोजित चुनावी सभालाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले साे कुरा बताएका हुन् ।

“जनमतबाट डराएपछि भ्रष्टहरु पैसा बाँडेर चुनाव जित्ने सपना देखेका छन् । यहाँ पनि भोजभतेर गरेर, पैसा बाँडेर चुनाव जित्न खोजेको सूचना आएकाे छ” प्रचण्डले भने, “उनीहरु अहिले पनि जनतालाई मान्छे ठान्दैनन् । पैसा बाँडेर चुनाव जितेपछि उनीहरुले जनताको काम गर्दैनन्, त्यो बाध्यता पनि हुँदैन, उनीहरुको काम त भ्रष्टाचार गरेर आफ्नो लगानी उठाउनु, देशलाई लुट्नु मात्र हुन्छ ।’’

अध्यक्ष प्रचण्डले आइतबार बिहान चन्द्रपुरकै ३ स्थानीय चुनावी सभालाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा चन्द्रपुर नगरपालिकाका मेयरका उम्मेदवार युवराज भट्टराई, उपमेयरका उम्मेद्वार जानकी नेपाल लगायतका वक्ताहरुले नगरको विकासबारे आफ्नो धारणा राखेका थिए ।

अाइतबार नै सर्लाहीमा अायाेजित एक कार्यक्रममा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले हजाराैंकाे संख्यामा राजपाका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

पूर्वसांसद एवं राजपाका स्थापित नेता शिबपुजन यादवको नेतृत्वमा राजपाका तीन केन्द्रीय सदस्य र १४ जना पूर्व गाबिस अध्यक्षसहित हजारौं जना नेता कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सर्लाहीको बजिरा नगरपालिकामा आयोजित कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री एवं माओवादी नेता जनार्दन शर्मा प्रभाकर, नेताहरु मातृका यादव, रामेश्वर राय यादवले माओवादी केन्द्रमा स्वागत गरेका थिए ।

तपाइको मत