९ भदौ, काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल समूहले सरकारमा आफ्नो समूहबाट कसलाई पठाउने भन्ने नाम टुङ्गो लगाउन नसक्दा बुधबार अपराह्न हुने भनिएको शपथ कार्यक्रम आज हुने भएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबार सरकारमा जाने मन्त्रीहरुलाई सपथ खुवाउने प्रबन्ध मिलाउन आग्रह गरिसकेको भए पनि पौडेल समूहले मन्त्री टुङ्गो लगाउन नसक्दा शपथ बिहीबारका लागि सारिएको हो ।
पौडेलले संसदीय दलको निर्वाचनमा ३० प्रतिशत मत पाएकाले त्यही हाराहारीमा मन्त्री लिनु पर्ने पौडेल समूहको आग्रह छ । तर, पौडेलले आफूले ४० प्रतिशत मन्त्री पाउनु पर्ने दाबी गर्दै आएका छन् ।
कांग्रेस सभापति देउवा शुक्रबार उपचारका लागि सिंगापुर जाने भएकाले पनि बिहीबार शपथ गराउने निर्णयमा पुगेका छन् । स्रोतकाअनुसार प्रधानमन्त्रीले मुख्यसचिव सोमलाल सुवेदीलाई शपथको प्रबन्ध गर्न आग्रह गरिसकेको छ । देउवाले बिहीबार बिहानसम्म पौडेलले मन्त्रीको नाम नदिए आफैंले ११ जना मन्त्री चयन गरेर शपथ गराउने तयारी समेत गरेको छ ।
नेता रामचन्द्र पौडेल समूहलाई चारजना मन्त्री छान्न मुस्किल परेको छ । महामन्त्री शशांक कोइरालाले केन्द्रीय सदस्य दीपक गिरीलाई मन्त्री सिफारिस गरेका छन् भने कोषाध्यक्ष सीतादेवी यादव मन्त्री बन्ने पक्का छ ।
बाँकी दुई मन्त्री छान्न भने धौधौ परेको छ । दुई मन्त्रीमा बलबहादुर केसी, नवीन्द्रराज जोशी, रोमी गौचन, आनन्दप्रसाद ढुंगानाले दाबी गरेका छन् । चारजनाबाट दुईजना छान्न गाह्रो भएकाले पनि पौडेलले मन्त्रीको नाम दिन ढिला गरेको स्रोतको दाबी छ ।