प्रअमाथि अनियमितताको आरोप लगाउँदै तालाबन्दी र अनशन

देवराम यादव । ५ मंसिर ०७६, सप्तरी । जिल्लाको विष्णुपुर गाउँपालिका १ खुरहुरिया स्थित जनता माध्यमिक विद्यालयमा २ दिन देखि तालाबन्दी गरी रिले अनशन चलिरहेको छ ।

विभिन्न ६ बुँदे माग राखी विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारी र अभिभावक मिलेर गरेको तालाबन्दी र थालेको रिले अनशन खुलाउन भने कुनै प्रयास नहुँदा विद्यार्थीको पढाई पनि प्रभावित हुन थालेको छ ।

विद्यालय व्यवस्थापन समितिका जेठा सदस्य राम नारायण यादवको अगुवाईमा प्रअ कक्ष, लेखा र अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरी विद्यालयको प्रवेशद्वार नजिकै अनिश्चितकालीन रिले अनशन चलिरहेको हो । उनीहरुले ६ बुँदे माग पुरा नभएसम्म तालाबन्दी र रिले अनशन कुनै पनि हालतमा नरोकिने अडान लिएका छन् । यद्यपि सरोकारवाला नियमा भने अहिले सम्म मौन छ ।

९ समिति सदस्य मध्ये विद्यालयका प्रधानाध्यापक सूर्य नारायण यादव र अध्यक्ष चितरंजन यादव सहित ४ जना बाहेक सवै सदस्य आफुहरुले अघि सारेको मागको समर्थनमा रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य यादवले दावी गरे ।  उनीहरुले प्रअ यादवले विद्यालयमा आर्थिक अनियमितता गरेको मनोमानी ढंगले काम गरेको र व्यवस्थापन समितिका अध्यक्ष चितरंजनले पनि मौन समर्थन जनाईरहेको आरोप लगाएका छन् ।

अनशनकारीले आर्थिक वर्ष २०७२/०७३ देखि हाल सम्मको पटक–पटक आय व्यय सार्वजनिक गर्न माग गर्दा पनि प्रअ यादवले आलटाल गर्दै आएको आरोप लगाएका छन् ।

त्यस्तै सामाजिक लेखा समितिले बेरुजु देखाएका १ करोड ८१ लाख रुपैया अबिलम्ब र्फछ्योट गर्नुपर्ने, अभिभावक भेला बोलाउनु पर्ने, शिक्षक छनोट समितिको कार्यविधि पारदर्शी गर्नुपर्ने र विद्यालय व्यवस्थापन समितिको बहुमत सदस्यहरुले गरेका निर्णयहरु कार्यान्वयन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।

विद्यालयको बेथिती र अनियमितता बारे जानकारी गराउँदै जिल्ला प्रशासन कार्यालय तथा विष्णुपुर गाउँपालिका कार्यालयमा समेत उजुरी गर्दा छानबिन गर्न ढिलाई गरेकोले बाध्य भई आन्दोनलमा उत्रिनु परेको विद्यालय व्यवस्थापन समितिका सदस्य राम नारायण यादवको भनाई छ ।
यता विद्यालयका प्रधानाध्यापक सूर्य नारायण यादवले गत कार्तिक २० गते विज्ञापन गरी भर्ना गरिएको प्रावि राहत शिक्षकमा आफनो मान्छे नपर्दा एक स्थानियले केही व्यक्तिलाई उक्साएर विद्यालयमा तालाबन्दी र अराजकता फैलाएको बताए ।

त्यस्तै उनले आफनो स्वार्थ पुरा नभएपछि पैसाको चलखेल गरी यस्तो बितन्डा मच्चाइएको बताउँदै आर्थिक अनियमितताको कुरा त बाहाना मात्र भएको बताए । उनले आफु कुनै अनियमितता नगरेको र शिक्षक भर्ना पनि विधि सम्मत ढंगले गरेको दावी गर्दै छानविनका लागि जुनसुकै बेला तयार रहेको बताए ।

उनले शिक्षक भर्नामा आफन्त नपरेपछि रिसमा यस्तो नाटक रचिएको र आफु विद्यालय जाँदा गालीगलौज समेत गर्ने गरेकाले विगत १५ दिन देखि विद्यालय जान नसकेको विवशता समेत पोखे ।