‘प्रचण्ड’को नेतृत्वमा राष्ट्रिय सहमतीय सरकार गठन गर्ने ‘भद्र सहमति’ भएको थियो – एमाले वरिष्ठ नेता, झलनाथ खनाल

नौ बुँदे सहमति भएसँगै बजेटपछि वर्तमान गठबन्धन कायमै राखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन गर्ने ‘भद्र सहमति’ भएको समाचारहरु आएका थिए । बजेटसँगै माओवादीले सहमतिअनुसार ठाउँ खाली गर्न एमाले र प्रधानमन्त्री ओलीलाई दबाब दिन थालेको छ ।

‘भद्र सहमति’ भएको विषयमा काठमाण्डु टुडेका लागि डीएन भट्टले एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग गरेका कुराकानीको सम्पादित एक अंश राजनीति महत्वको विषय भएकाले साभार गरिएको छ :

सरकार परिवर्तनबारे एमाले र माओवादीबीच सहमति भएकै हो ?

केही समयअघि तत्कालिन एनेकपा माओवादीले गठबन्धन कायमै राखेर प्रचण्डजीको नेतृत्वमा सरकार बनाउने कुरा अगाडि ल्यायो । काँग्रेसले समेत हामीलाई समर्थन गरेको हुनाले राष्ट्रिय सहमतिमा हाम्रो नेतृत्वमा सरकार बनाऔं भन्ने प्रस्ताव उता (माओवादी)बाट आयो । हामीले बजेट ल्याउने बेलामा सरकार परिवर्तनको एजेण्डामा जाँदा मुलुकलाई घाटा पुग्छ । अस्थिरता हुन्छ, त्यसैले तत्कालका लागि यही सरकार कायम गरेर जाँदा राम्रो होला भन्यौं । त्यही स्प्रिटमा दुई पार्टीबीच नौ बुँदे सहमति भएर तत्कालका लागि समस्या टरेको हो । नौ बुँदेसँगै अरु पनि केही ‘भद्र सहमति’ भएका थिए । अहिले ‘भद्र सहमति’ कार्यान्यवनको समय आएको छ ।

सरकार परिवर्तनबारे प्रधानमन्त्री र माओवादी नेताहरुको मत बाझिएको छ । तपाईं सहमतिकर्ता मध्येको एकजना हुनुहुन्छ । बालुवाटारमा भएको सहमति चाहिं के थियो ?

नौ बुँदे सहमति राजनीतिक सम्झौता थियो । नौ बुँदेमार्फत नै सरकार र गठबन्धनका अगाडि आएको तत्कालिन संकट टार्ने काम गरियो । आफ्नो संकट टरेर गयो भन्दैमा भएको सहमति भएकै थिएन भन्न मिल्दैन । बजेटपछि उपयुक्त समयमा गठबन्धन कायमै राखेर बाहिर रहेका शक्तिहरुको समेत साथ र समर्थनमा प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने ‘भद्र सहमति’ भएको हो । अहिले आएर सहमति भएकै थिएन भन्नु राजनीतिक बेइमानी हुनजान्छ । दुई पार्टीका हामी धेरै नेता त्यहाँ थियौं । भएको सहमतिलाई भएको होइन भनन मिल्दैन । भद्र सहमतिको पोको नखुलिसकेको भएर पनि केही ‘कन्फ्युजन’ रहन गएका होलान् । समय आएपछि पोको खुल्छ र बास्तविकता सबैलाई ज्ञात हुन्छ ।

तपाइको मत