१५ असार, काठमाडौं । युद्धकालिन मुद्दामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फसाउन भारतीय दुतावास सक्रिय रहेको निष्कर्ष शीर्ष नेताहरुले निकालेका छन् ।
भारतीय दुतावास वर्तमान सरकारलाई गिराउन र प्रचण्डलाई कमजोर बनाउन सक्रिय रहेको निष्कर्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले निकालेका हुन् ।
प्रचण्डले प्रधानमन्त्री ओलीलाई चार दिनअघि बालुवाटारमा भएको छलफलमा युद्धकालिन मुद्दामा आफूलाई फसाउन भारतीय दुतावासले देश-बिदेशमा चलखेल गरेको बताएका थिए ।
‘देशभित्र र बाहिर मलाई युद्धकालिन मुद्दामा फसाउन खोजिदैछ, तर म डराएर भाग्ने पक्षमा छैन’ ओलीसँग प्रचण्डले भने, ‘तपाईले पनि दरो रुपमा खुट्टा टेक्नु परयो ।’
‘मैले पनि कहिँ कतै त्यस्तै संकेत पाएको छु’ प्रचण्डले आफ्नो कुरा राखेपछि प्रधानमन्त्री ओलीले भने, ‘त्यही भएर मैले अष्ट्रेलिया नजानुस भनेको हुँ ।’
भारतीय दुतावासको निर्देशनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अष्ट्रेलिया पुगे त्यही पक्राउ गरी हेगसम्म पुरयाउने योजना अनुसार अष्ट्रेलियामा रहेका मानवअधिकारबादीहरुले चलखेल गरेको दुई नेताको निस्कर्ष छ ।
तर, मंगलबार बिहान लाजिम्पाटस्थित माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ निवासमा पुगेका अष्ट्रेलियाका राजदूत ह्वाइटले प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित हुनुको कारणबारे चासो राख्दै प्रचण्डलाई पक्राउ गर्ने योजना नभएको सुनाएका थिए ।
सुरुमा प्रचण्ड भारतीय राजदूत रायको सुझावमा सरकार ढाल्न कस्सिएका थिए । तर, प्रचण्डले धोका दिएको भन्दै भारतीय राजदूतले आक्रोस समेत पोखेका थिए ।
सरकार ढाल्न प्रचण्डले धोका दिएपछि भारतीय राजदूतले प्रचण्डलाई युद्धकालिन मुद्दामा फसाउने र कम्यूनिष्ट सरकार कमजोर बनाउने रणनीति अख्तियार गरेको शीर्ष नेताहरुको निस्कर्ष छ ।