११ भदौ ०७४, धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले कहिल्यै पनि परिवर्तन र क्रान्तिको नेतृत्व नगरेको बताएका छन् ।
शनिबार माओवादी केन्द्र ७ नम्बर प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमालेले कहिल्यै पनि परिवर्तन र क्रान्तिको नेतृत्व नगरेको बताएका हुन् ।
‘मदन भण्डारी बाँचेको भए के हुन्थ्यो भन्न सकिन्नथ्यो । तर, अब त्यो सोच्नु पनि काल्पनिक हुन्छ । २००७ सालको क्रान्तिको नेतृत्व कांग्रेसले गर्यो, २०४६ सालको आन्दोलन पनि कांग्रेसले नै गर्यो, बामपन्थी शक्तिहरुको सहयोगी भूमिका भयो, जनयुद्ध र गणतन्त्रको नेतृत्व हामीले गर्याैं।’ अध्यक्ष प्रचण्डले भने, ‘देशमा ठूलो राजनीतिक परिवर्तन माओवादीले गर्यो । तर, एमालेले के गर्यो ? गणतन्त्रको आन्दोलनमा उनीहरु यसका विरोधी थिए, संघीयता पनि उनीहरुले रुचिले मानेका होइनन्, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक त झन् मन नै पराउँदैनन् ।’
देशलाई राजनीतिक स्थिरता दिएर आर्थिक समृद्धिलाई नयाँ उचाईमा लैजान कार्यकारी राष्ट्रपति
उनले माओवादी रणनीतिबाट बिचलित नभएको भन्दै समाजवादउन्मूख संघीय गणतान्त्रिक संविधान बनाएकाले देशलाई राजनीतिक स्थिरता दिएर आर्थिक समृद्धिलाई नयाँ उचाईमा लैजान सकिने बताए ।
प्रचण्डले देशमा प्रमूख कार्यकारी राष्ट्रपति अपरिहार्य रहेको बताउँदै २ वर्षमा ३ वटा सरकारले देशको विकास र समृद्धि सम्भव नरहेको बताए । उनले भने, ‘जनता आफैले प्रत्यक्ष भोट हालेर चुन्ने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति चाहिन्छ । यसले मात्रै देशलाई एकतावद्ध गर्छ, आर्थिक समृद्धि र विकासलाई गति दिन सक्छ ।’
समाजवादी क्रान्तिको नेतृत्व गर्न मन लागेको खुलासा
उनले माओवादी आन्दोलनलाई फेरि एकतावद्ध गरेर समाजवादी क्रान्तिको नेतृत्व गर्न मन लागेको खुलासा गरे ।
‘दश वर्षभित्र फेरि समाजवादी क्रान्तिको उभार ल्याउन सक्छौं । मलाई समाजवादी क्रान्ति देखेर मात्र मर्न मन छ, प्रचण्ड त्यत्ति छिटै थाक्ने मान्छे होइन । सबै माओवादीहरु एकै ठाउँ आउनुको कुनै बिकल्प छैन’ प्रचण्डले भने, ‘वैद्यजी चुनाव लड्नु भो, बाबुरामजी पनि लड्नु भो । फरक तरिकाले भए पनि विप्लवजी चुनाव लड्नुभो । तर, जनताले तिमीहरुको कुनै अर्थ छैन भन्ने जनादेश दिए । हामीलाई पनि जनताले सबै माओवादीलाई मिलाउने जिम्मा तिम्रो हो भन्ने जनादेश दिए । तसर्थ, जनताको अभिमत बुझेर सबै माओवादी एक हुनुको कुनै बिकल्प छैन ।’
मधेशी दलको भ्रमबाट जनता मुक्त हुँदै
प्रचण्डले मधेशका मसिहा ठान्ने मधेशी दलको भ्रमबाट जनता मुक्त मुक्त हुँदै गइरहेको भन्दै मधेशमा माओवादीको पक्षमा लहर आइरहेको बताए ।
‘११ वर्षपछि मधेशमा फेरी माओवादीको पक्षमा लहर आउँदैछ, मधेशका मसिहा ठान्ने मधेशी दलको भ्रमबाट जनता मुक्त हुँदैछन्’, प्रचण्डले भने, ‘हेर्दै जानुहोला, माओवादीको पक्षमा मधेशमा ठूलो जनलहर आउँछ । संघीयता मधेशी दलको मुद्धा हुँदै होइन, हामीले मधेशी, थारु, मुस्लिम, मगर मुक्ति मोर्चाको अभ्यास गरेर युद्धमा जाँदा तिनीहरु कहाँ थिए ? बीचमा हाम्रा मुद्धाहरुको अपहरण गर्ने कोशिस गरे, अब त्यो सम्भव छैन ।’
एकताको सन्देश दिन धनगढी
प्रशिक्षणमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले आफूहरु एकताको सन्देश दिन धनगढी आएको बताए ।
‘अध्यक्षले नै प्रशिक्षण दिने भएपछि मैले बोल्नु खासै केही छैन । तर, हामीले पार्टीभित्र सुदृढ एकता पैदा गरेका छौं, हाम्रा बीचमा कुनै बिमति, विवाद र समस्या छैन’, नेता श्रेष्ठले भने, ‘एकताको सन्देश दिन मात्रै म तपाईहरुको बीचमा उभिएको छु । हामी सुदृढ एकतासहित माओवादी आन्दोलनलाई नयाँ उचाईमा उठाउँछौं ।’
बीचमा जनसम्बन्ध अत्यन्तै फितलो
माओवादी केन्द्रका कार्यालय सदस्य तथा संगठन विभाग प्रमुख रामबहादुर थापा ‘बादल’ले जनतासँगको सम्बन्ध सुदृढ गरेर माओवादीलाई विजयी बनाउनु पर्ने बताए ।
‘हामीसँग जनमत छ, मुद्धा र नेतृत्व पनि छ । तर, यस बीचमा जनतासँगको हाम्रो सम्बन्ध अत्यन्तै फितलो भयो, नेता बादलले भने, ‘अब हामी यसलाई सच्चाउँछौं र माओवादी आन्दोलनलाई सुदृढ गर्छाैं ।’