प्रचण्ड र बाबुराम एउटै मञ्चमा

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई एउटै मञ्चमा  देखिएका छन्।

सोमबार प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा आयोजित माओवादी केन्द्रका सांसद स्व. भक्तिप्रसाद पाण्डेको स्मृतिमा प्रकाशित पुस्तक ‘चाचा’ को बिमोचन कार्यक्रममा  प्रचण्ड र बाबुराम एउटै मञ्चमा देखिएका हुन्।  प्रधानमन्त्री प्रचण्ड र नयाँ शक्तिका संयोजक भट्टराईले स्वर्गीय पाण्डेको स्मृतिमा प्रकाशित पुस्तक ‘चाचा’ नामक पुस्तकको बिमोचन संयुक्त रुपमा गरेका थिए।

पाण्डेको सङ्घर्ष यात्राको बिमोचन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक उपलब्धि जोगाउन जनयुद्धकालीन सबै शक्ति एक हुनुको बिकल्प नभएको बताएका छन् । प्रचण्डले भने,‘गणतन्त्र ल्यायौं, नयाँ संविधान पनि आयो, संघीयता, समावेशिता, धर्मनिरपेक्षताजस्ता सबै उपलब्धि हासिल पनि भए। तर, यसलाई सिध्याउने षड्यन्त्र भइरहेका छन्। उपलब्धि जोगाउन हामी मिल्नुको विकल्प छैन।’

प्रधानमन्त्रीले अहिले माओवादी शक्तिहरु केही कमजोर भएको देखेर ऐतिहासिक उपलब्धिहरु उल्टाउने कोशिस भइरहेको समेत बताए। माओवादीका सबै धाराहरु एकतावद्ध हुनु पर्नेमा जोड दिँदै उनले भने,‘संविधान कार्यान्वयनको चुनौतीपूर्ण कार्यभार बाँकी नै छ त्यसैले अब हामी मिल्नु नै पर्छ।’

कार्यक्रममा एउटै मञ्चमा रहेका नयाँ शक्तिका संयोजक भट्टराईप्रति इंकित गर्दै, प्रचण्डले बाबुरामले हतारमा निर्णय लिएको टिप्पणी गर्दै उनले भने,‘संविधान त जारी भयो, तर कार्यान्वयन हुन अझै बाँकी छ। तर, बाबुरामजी हतारिनुभयो। उहाँको बहिर्गमन मलाई सामान्य लागेको छैन।’ मुलुकलाई २०४७ सालतिर फर्काउने कोशिश भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यो षड्यन्त्र सफल हुन नदिने बताए।

प्रचण्डले स्वर्गिय सांसद पाण्डेको अन्तिम चाहना आफूहरु मिल्नु नै रहेको स्मरण गर्दै उनले भने,‘ भक्ति पाण्डेको एउटामात्रै चाहना थियो त्यो भनेको प्रचण्ड र बाबुराम एक ठाउँमा हुनु पर्छ भन्ने हो। अब एकै ठाउँमा हुनुको अरु विकल्प छैन।’

प्रधानमन्त्री प्रचण्डले मुलुकलाई २०४७ सालतिर फर्काउने कोशिश भइरहेको भन्दै त्यो षड्यन्त्र सफल हुन नदिने बताए।

एक हुने सम्भावना जिवितै छः भट्टराई

कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्नि भट्टराई आफूहरु फेरि मिल्ने सम्भावना जिवितै रहेको बताउदैँ उनले ऐतिहासिक उपलब्धी गुम्ने खतरा रहेको भन्दै फेरि पनि प्रचण्ड र आफू एक ठाउँमा उभिन सक्ने बताए। उनले भने,‘हिजो छुट्टिँदा प्रचण्डजीसँग मेरो कुनै व्यक्तिगत दुश्मनी थिएन र अहिले पनि छैन। हामी परिस्थितिले अगल भएका हौं। मिल्न सक्ने सम्भावना अहिले पनि उत्तिकै छ।’

भट्टराईले पनि ऐतिहासिक उपलब्धी गुम्न नदिन सवै मिल्नुको विकल्प नरहेको बताउँदै, ‘माओवादीसँग मिल्ने सम्भावना भोलि पनि छ तर पुरानो माओवादीको सोचले हुँदैन, पहिला विचार परिवर्तन गर्नुपर्छ।’

प्रचण्ड–बाबुराम मिल्नुको विकल्प छैनः शर्मा

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले पनि प्रचण्ड र बाबुराम एक ठाउँमा हुनुको विकल्प नरहेको बताएका थिए। उनले भने,‘तपाईँहरु छुट्टिएर गल्ती गर्नु भयो। अब मिल्नुस्।’ उनले प्रचण्डको नेतृत्वमा रहेको तत्कालीन नेकपा माओवादीसँग आफू विद्रोही नेकपा मसालको संयोजक रहँदा २०५७ सालमा पार्टी एकता गरेको स्मरण समेत गरे।

तपाइको मत