प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्चद्वारा पक्ष-विपक्षलाई ३० घण्टा समय निर्धारण

२६ जेठ ०७८, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले बहसका लागि पक्ष-विपक्षलाई ३० घण्टाकाे समय निर्धारण गरिएको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा बहसको लागि समय निर्धारण गरेको हाे ।

रिट निवेदक पक्षले सुरुमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय  पाउनेछन् । त्यस्तै विपक्षी सरकारका तर्फबाट पनि बहसका लागि १५ घण्टा समय पाउने भएका छन् ।

इजलासले यो मुद्दामा ४ जना ‘अदालतको सहयोगी’ एमिकस क्युरी पनि माग गरेको छ ।

एमिकस क्युरीमा नेपाल बार एशोसिएसनबाट २ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना माग गरिएको छ ।

एमिकस क्युरीका ४ जनाले आधा-आधा घण्टा गरी दुई घण्टा बहस गर्न पाउने छन् ।

संवैधानिक इजलासले असार १० गतेसम्म कानुन व्यवसायी र एमिकस क्युरीलाई बहस नोट दिन आदेश दिएको छ ।