प्रतिपक्षको असहमतिपछि सूचना प्रविधि विधेयक पारित हुन सकेन

८ पुस ०७६, काठमाडौं । प्रतिपक्षी सांसदहरुको असहमतिपछि विकास तथा प्रविधि समितिको बैठक स्थगित भएको छ ।

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबारको बैठकबाट पारित गर्ने तयार भएपनि कुरा नमिलेपछि बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित भएका हो ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा छलफल भइरहेको विधेयकमाथि आफूहरुले राखेको संशोधनलाई बेवास्ता गरिएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले असहमति जनाएका छन् । यसअघि पनि कांग्रेस सांसदहरुको असहमतिका कारण समितिको बैठक स्थगित गरिएको थियो ।

मंगलबार पनि कांग्रेस सांसदहरु अडानमा कायमै रहेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । तर, आधा घण्टापछि पनि बैठक बस्न नसकेपछि आइतबारसम्मका लागि बैठक स्थगित गरियो ।

विधेयकमा कुनै व्यक्तिलाई सामाजिक सञ्जालमा निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।