१२ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मौन बसेपछि संविधान संशोधन विधेयकमाथि संसदमा सैद्धान्तिक छलफल सुरु भएको छ ।
संशोधन राष्ट्रघाती भएको भन्दै संसदमा छलफल नै गर्न नदिने अडानमा रहेको एमाले केही लचिलो बनेका कारण बिहीबारको संसद बैठकले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पास गरेको छ । अब विधेयकमाथि संशोधन हाल्न सांसदहरुका लागि ७२ घन्टे समय सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच संसद बैठक अघि नै सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भेटवार्ता भएको थियो । वार्तामा संशोधनमाथि सैद्धान्तिक छलफल गर्न दिन एमाले सहमत भएका थिए ।
दिउँसो संसद बैठक सुरु हुनासाथ ९ दलको तर्फबाट विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले ‘एक दिनका लागि’ संविधान संशोधन विधेयकमाथि छलफल गर्न दिने घोषणा गरे । छलफलमा आफूहरुले भाग नलिने र मौन बस्ने उनले बताए ।
तर, विपक्षी ९ दलीय मोर्चामा आवद्ध भएको नेमकिपाले नेम्वाङको घोषणा नमानी कानुमन्त्री अजयशंकर नायकले संशोधन प्रस्ताव पेश गर्नासाथ नेमकिपाका सांसदहरुले ‘राष्ट्रघाती संशोधन फिर्ता गर’ भन्दै नाराबाजी गरेको थिए ।