३ असार ०७४, काठमाडौं । सरकारले २ नं प्रदेशको निर्वाचन मिति परिवर्तन गरी आगामी असोज २ गते गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले यसअघि त्यस प्रदेशमा लगाइएको आचारसंहिता कायम नरहने जनाएको छ । अाजकाे राजधानी दैनिकमा खबर छ ।
दुई नम्बर प्रदेशका हकमा सम्बन्धित मन्त्रालयले नै सरुवा, बढुवा, नियुक्ति, काज, विदेश भ्रमण लगायतका विषयमा आवश्यक निर्णय लिनसक्ने गरी निर्वाचन आचारसंहितालाई अर्को व्यवस्था नभए सम्मका लागि हटाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
यही असार १४ गते निर्वाचन हुने प्रदेश नं १, ५ र ७ मा भने पूर्ववत् रुपमा आचारसंहिता कायम रहेको उहाँले बताउनुभयो ।
यसैगरी निर्वाचन आयोगले राजनीतिक दलका भ्रातृ सङ्गठनबाट विभिन्न राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भएकाे जनाउँदै बालबालिकाको प्रयोग नगर्न र आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दललाई पुनः आग्रह गरेको छ ।
आयोगले नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई बेग्लाबेग्लै पत्र पठाई त्यस्तो आग्रह गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।