२५ भदौ ०७४, रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसभित्रको अराजकतावादी समूह बाधक रहेको बताएका छन् ।
असोज २ गते हुने स्थानीय तह निर्वाचन केन्द्रीत भई मधेशको रौतहटमा रहेका प्रचण्डले आइतबार पछिल्लो समय नेपाली कांग्रेस संगठित पार्टी भन्दा पनि अराजकतासहितको वर्गको भीड जस्तो बनेको बताएका हुन् ।
‘कांग्रेस भित्रको अन्र्तकलहले गर्दा चुनावी तालमेल हुन सकेन । एमालेसँग तालमेल गर्दा फाइदा नहुने देखेर बल नगरेको हो, किनभने एमालेलाई मधेसका जनताले रुचाएका छैनन्, त्यतातर्फ मैले त्यति बल पनि गरिनँ ।’ एक अनलाइनसँगको कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले तालमेल हुन नसक्नुको रहस्य खोल्दै भने, ‘मधेस पहाड हिमाल जोड्न पनि एमालेसँग तालमेल गर्नु ठिक थिएन । निजगढ र ढलकेबरमा चाहिँ भयो । हाम्रो प्रभाव भएका ठाउमा उसले हामीलाई मेयर दिन मानेन । लालबन्दी र सिमरा जितपुरमा तालमेल भैसकेको थियो तर कांग्रेसकै कारण भएन ।’
अध्यक्ष प्रचण्डले कांग्रेसले माओवादीसँग चुनावी तालमेल नगरेर गल्ती गरेको भन्दै उसले भविश्यमा ठूलो क्षती व्यहोर्नुपर्ने चेतावनी पनि दिए । उनले कांग्रेसलाई आफुले जे गरेपनि हुन्छ भनेर सोच्नु अहंम भएको भन्दै त्यसो नगर्न सुझाव पनि दिए । साथै, उनले एमालेले राष्ट्रबादको भ्रम दिएको बताए ।