१८ कार्तिक ०७६, काठमाडौं । मन्त्रिपरिषद्को आइतबार बसको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख)अनुसार प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको जनाएको छ ।
नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको तत्कालीन चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश १ का प्रा.डा.गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ का रत्नेश्वरलाल कायश्थ, प्रदेश ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ललाई नियुक्त गरेको थियो ।
संविधानको धारा १६५ को उपधारा १ को (ख) मा प्रदेश प्रमुखको पदावधि सकिनु अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गर्न सक्ने व्यवस्था छ ।
काँग्रेसको नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले राजनीतिक आस्थाका आधारमा हटाइएको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।














