१८ चैत ०७६, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)का केन्द्रीय सदस्य चन्द्रभुषण साहले राजपाका प्रदेश २ का सांसद उपेन्द्र महतोलाई क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै सस्तो प्रचारबाजी नगर्न चेतावनी दिएका छन् ।
प्रदेश सांसद उपेन्द्र महतोले निर्वाचन क्षेत्र संसदीय विकास कोषको १ करोड़ रुपैयाँ प्रदेश सरकारको कोषमा दिने बताएपछि साहले समाजिक सञ्जालमार्फत् महतोको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै सस्तो प्रचारबाजी नगर्न चेतावनी दिएका हुन् ।
“बाहिरबाट मेहनत मजदूरी गरेर आफ्नो अधिनस्थ परिवारजनको लालनपालन गर्नु हरेक सच्चा कर्तव्यनिष्ट अभिभावकको परम दायित्व हो” भन्दै साहले फेसबुकमा लेखेका छन्, “अपना क्षेत्रवासिके अई संकटके घडीमे खाईला लाई न आ क्षेत्रसे बाहर जाके…!”
निर्वाचन क्षेत्र विकास संसदीय कोषको रकम सारा क्षेत्र बासीको साझा रहेको बताउँदै उनले प्रश्न गरेका छन्, “तपाईको व्यक्तिगत पेवा ? यो यथार्थलाई कसरी भुल्नु भो ?”
उनले वडा अध्यक्षलाई आफ्नो वडा विकासको रकम जिल्लाभरि वितरण गर्ने नैतिक आधार र अधिकार नभए जस्तै प्रदेशसभा सदस्यलाई निर्वाचन क्षेत्रभित्रको बजेट कार्यविधि विपरीत क्षेत्रबाहिर लैजाने नैतिक धरातल र अधिकार नरहेको उल्लेख गरेका छन् ।
निर्वाचन क्षेत्र विकास कोषको रकम व्यक्तिगत र सस्तो लोकप्रियताका लागि प्रदेश सरकारको कोषमा दिने घोषणा गरिनु लापरवाही भएको भन्दै उनले यस्तो कार्य क्षम्य नहुने बताएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको नियन्त्रण तथा रोकथामका लागि प्रदेश २ का प्रदेशसभा सदस्य उपेन्द्र महतोले प्रदेश सरकारद्वारा गठित राहत कोषमा आइतबार सामाजिक संजाल फेसबुकमार्फत् आफ्नो निर्वाचन क्षेत्र विकास कोषबाट १ करोड रकम जम्मा गर्ने घोषणा गरेका थिए ।
प्रदेशसभा सदस्य महतोले फेसबुकमा लेखेका छन्, ‘कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारद्वारा गठित राहत कोषमा म आफ्नो प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कोषबाट १ करोड दिने घोषणा गर्दछु ।’