प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

१२ पुस ०७७, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

आज प्रदेशसभामा रहेका ३७ जना सांसदहरुको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । संसद सचिवालयमा दर्ता गरिएको अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ ।

संसद सचिवालयमा दर्ता गरिएको प्रस्ताव प्रदेशसभाका सभामुख प्रदीप भण्डारीलाई समेत बुझाइएको छ ।

नेकपा प्रदेशसभा संसदीय दलका उपनेता टंक आङबुहाङको नेतृत्वमा गएको टोलीले अविश्वास प्रस्ताव दर्ता गरेको हो ।

कूल ९३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् ।

यस्तै प्रदेशसभामा नेपाली काँग्रेसका २१, जसपाका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाक १ सदस्य छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सिफारिसमा संघीय संसद विघटन गरेपछि ओली निकट मुख्यमन्त्री भएका प्रदेशमा प्रचण्ड–माधव निकट सांसदहरुले अविश्वासको प्रस्ताव गर्दा गर्न सुरु गरेका छन ।

प्रधानमन्त्री ओलीले संसद विघटनसँगै उनको यस कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर देशव्यापी विरोध प्रदर्शनहरु भइरहेका छन् ।