३१ असार ०७६, काठमाडौं । प्रदेश २ का मन्त्रीहरुले बाढी प्रभावित परिवारलाई एक महिनाको तलब दिने भएका छन् ।
मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीव्र बनाउने निर्णय गर्दै मन्त्रीहरुको एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले साउन १ गतेदेखि प्रदेशका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरूलाई आ–आफ्नो क्षेत्रमा गई राहत कार्यमा जुट्न आग्रह गरेको छ ।
बाढीले प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दीपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समिति समेत गठन गरेको छ । समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्ति सहित अनुगनम र निरीक्षण समेत गर्ने छन् ।
प्रदेश सरकारले यसअघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत सोही समितिले गर्ने छ ।
प्रदेश सरकारले यसअघि नै बाढीबाट मृत्यु हुनेको परिवारलाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीपले दिए बाढी पीडितलाई एक महिनाको तलब
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले पर्सा जिल्लाका डुबान र बाढीबाट प्रभावितका लागि आफ्नो एक महिनाको तलब सहयोग गरेका छन् ।
सांसद यादवले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर सांसद यादवले जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईलाई एक महिनाको तलब बराबरको ५५ हजार २ सय ३० रुपैयाँ जिल्ला विपद् व्यवस्थापन समितिलाई प्रदान गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद यादवले पर्साका बाढी प्रभावितलाई राहत वितरणमा प्रयोग गर्न एक महिनाको तलब बराबरको रकम सहयोग गरेको बताए । उनले दैवी प्रकोपको यस कठिनघडीमा डुबान प्रभावितलाई सक्दो सहयोग गर्न सहयोगी हातलाई अपिल पनि गरे ।













