प्रदेश २ मा एमाले र लोसपा रोज्ने सांसद दुई-दुई जना

१७ भदौ ०७८, जनकपुरधाम । प्रदेश २ मा नेकपा एकीकृत समाजवादीका दुई जना प्रदेश सभा सदस्यले एमाले र जनता समाजवादी पार्टीका दुई जना प्रदेश सभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।

माधवकुमार नेपाल निकट सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एमालेमै बस्ने निर्णय लिएका हुन् भने जनता समाजवादी पार्टी (जसपा)का दुईजना प्रदेशसभा सदस्य प्रहलाद गिरी गोस्वामी र डिम्पल झाले लोसपा रोजेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का दुवै सांसदले जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार सनाखत गरेको लोसपाकै एक सांसदले जानकारी दिए ।

दुई जनाले सनाखत गरेसँगै जसपा छाडेर लोसपा रोज्ने प्रदेश सांसदको संख्या १२ पुगेको छ । यस्तै एमालेमा रहँदा माधव नेपाल समूहमा १३ सांसद रहेको भनिए पनि १० जना सांसदले मात्रै एकीकृत समाजवादी रोजेका छन् ।