१४ पुस ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जगत सिंखडाले संविधानतः प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेश सभालाई रहेको भन्दै सार्वभौम अधिकार कसैले कटौती गर्न नसक्ने बताएका छन् ।
प्रदेशको नाम र राजधानीका सवालमा संक्षिप्त प्रतिक्रिया दिँदै सासंद सिम्खडाले संविधान प्रदत्त प्रदेश सभाको सार्वभौम अधिकार कसैले कटौती गर्न नहुने बताएका हुन् ।
तत्कालिन नेकपा माओवादी केन्द्रबाट धादिङ प्रदेशसभा-२ (ख)बाट निर्वाचित सांसद जगत सिंखडाले प्रदेशको नाम र राजधानी तोक्ने सावलमा प्रदेश सभाको क्षेत्राधिकार भित्र पर्ने भन्दै आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकको निर्णयप्रति असन्तुष्ट जनाएका हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बाग्मती र राजधानी हेटौंडालाई बनाउने विषय सचिवालय बैठकमा सहमति भएको भन्ने समाचार बाहिर आएसँगै उक्त निर्णयप्रति नेकपा प्रदेश सदस्यहरुले असन्तुष्टि जनाएका हुन् ।
‘संविधानतः प्रदेशको नाम र राजधानी तोक्ने प्रदेशसभाले हो, प्रदेशसभाको अधिकार क्षेत्र, विधि, प्रक्रियालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिच्दैन भन्ने विश्वास छ,’ सांसद सिम्खडाले भने, ‘यदि आन्तरिक ह्वीप नै जारी गरिएको हो भने त्यसलाई गम्भीरतापूर्वक सच्याइनु पर्दछ, संविधानको मर्म विपरीत जाने छुट कसैलाई छैन्, प्रदेशको नाम र राजधानी तोक्ने प्रदेश सभाको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्न पाइँदैन ।’
यसैगरी नेकपाकै प्रदेशसभा सदस्य चन्द्र लामा, लक्ष्मण लम्साल, बसुन्धारा हुमागाइ र रत्न ढकालले पनि प्रदेशको नाम र राजधानी तोक्ने अधिकार पार्टीलाई नभएको बताएका छन् ।
प्रदेश नं. ३ को नाम र राजधानीको लागि काभ्रे, भक्तपुर र हेटौंडा मध्ये कहाँ राख्ने भन्नेमा अहिलेसम्म कुनै सहमति हुन सकेको छैन् ।
प्रदेशसभाको दुईतिहाई बहुमतले प्रदेशको नाम र राजधानी टुंग्याउने संविधानमा व्यवस्था छ ।














