प्रदेश ३ सरकारको ड्रिम प्रोजेक्ट : आठ स्थानमा हिल स्टेशन

१० पुस ०७६, काठमाडौं । प्रदेश ३ सरकारले पर्यटनका लागि नयाँ गन्तव्यको विकास गर्न ड्रिम प्रोजेक्टहरु अघि सारेको छ ।

संघीय सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने तयारी गरिरहेकै बेला प्रदेश ३ सरकारले पनि आफ्नो प्रदेशभित्रका जिल्लालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी आठ स्थानमा हिल स्टेशन बनाउने योजना अगाडि सारेको हो ।

प्रदेश सरकारले भ्रमण दशक (सन् २०२०-२०३०)लाई समेत लक्षित गर्दै ड्रिम प्रोजेक्टका रुपमा हिल स्टेशनलाई विकास गर्ने र नयाँ सम्भाव्य पर्यटकीय गन्तव्य पहिल्याउन मंसिर ३० देखि पुस ६ गतेसम्म हिमाली क्षेत्रका पर्यटकीय गन्तव्यमा सञ्चारकर्मीहरूको अवलोकन भ्रमण समेत गराइसकेको छ ।

प्रदेश सरकारको ड्रिम प्रोजेक्टका रुपमा सिन्धुलीको सिन्धुली गढी, रामेछापको शिवालय, दोलखाको जिरी, सिन्धुपाल्चोकको मुडे, रसुवाको सोमनाङ, नुवाकोटको ककनी, धादिङको रुवी भ्याली र मकवानपुरको चित्लाङ रहेको प्रदेश ३ पर्यटन विकास आयोजनाका ताराप्रसाद शिवाकोटीले जानकारी दिए ।

यसमध्ये नुवाकोटको ककनी र मकवानपुरको चित्लाङ टेण्डरमा गइसकेको, टेण्डर प्रक्रियाबाट ठेकेदारसँग सम्झौता भई ३/३ करोड गरी ६ करोड बजेट विनियोजन भइसकेको, त्यसैगरी सिन्धुपाल्चोकको मुडेमा टेण्डर प्रक्रिया ठेकेदारसँग सम्झौताको चरणमा रहेको र यहाँ पनि तीन करोड बजेट रहेको उनले बताए ।

‘रुबी भ्याली र सोमनाङमा डिपीआर हुँदै गरेको र अन्तिम चरणमा पुगिसकेको छ । रामेछापको शिवालय र जिरीमा डिपीआर बनिसकेर ठेक्का सम्झौता यसै आर्थिक वर्षमा गर्ने साथै त्यसलाई वहुवर्षीय प्रोजेक्ट बनाएर अगाडि बढ्ने लक्ष्य प्रदेश सरकारले लिइएको छ’ शिवाकोटीले भने ।

उनले सिन्धुली गढीको डिपीआर भइसकेको र टेन्डर प्रक्रियामा रहेको साथै प्रदेश सरकारले विभिन्न आठ स्थानमा हिलस्टेशन बनाउन लागेको समेत जानकारी दिए ।

शिवाकोटीका अनुसार पहिलो चरणमा सरकारले सबै हिल स्टेशनहरूमा भ्यु टावर निर्माण गर्ने, भ्यु टावर वरिपरि बगैंचा र मल्टिप्रपोज बिल्डिङ बनाउने छ । यसरी संरचना बनाएर पर्यटकीय गन्तव्यका रुपमा एउटा स्वरुप दिइँदैछ । यही हिल स्टेशनको छेउमा रिर्सोटहरु बन्ने छन् । रिर्सोटहरु बनाउँदा निजी जग्गा नभएको अवस्थामा वा सार्वजनिक जग्गाहरुमा रिर्सोट बनाउन राम्रो हुने देखिएमा प्रक्रिया पूरा गरेर सहजतापूर्वक निजी क्षेत्रलाई पनि रिर्सोट बनाउन प्रोत्साहन गरिनेछ । रिर्सोट बनेपछि बाह्य पर्यटक समेत भित्र्याउने प्रदेश सरकारले पर्यटकीय अवधारणा बनाएको छ ।

प्रदेश नं. ३ अन्तर्गत रहेका उपत्यकाको तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) र प्रदेश सरकारको आठ स्थानमा निर्माण हुने ड्रिम प्रोजेक्ट हिलस्टेशन बाहेक चर्चा नभएका तर आफैँमा महत्वपूर्ण रहेका पर्यटकीय नगरीहरुले पनि आन्तरिक र बाह्य पर्यटकको तिर्खा मेटाउन सक्ने देखिन्छ । प्रचुर पर्यटकीय सम्भावना बोकेका धार्मिक, सांस्कृतिक स्थल र स्थानहरूको समेत सरकारी तवरबाटै थप प्रचारप्रसार र प्रबद्र्धन हुनसके आन्तरिक र बाह्य पर्यटकको प्रवाह बढ्ने र प्रदेश सरकारको ढुकुटी समेत थप बलियो हुने सम्भावना छ ।