८ साउन ०७७, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशका एम्बुलेन्समा जीपीएस ट्रयाकिङ सिस्टम जडान कार्यको औपचारिक शुभारम्भ गरेका छन् ।
मन्त्री बरालले बिहीबार जीपीएस ट्रयाकिङ सिस्टम जडान कार्यको औपचारिक शुभारम्भ गर्दै प्रदेशका ३५० बढी एम्बुलेन्सहरुमा यो सिस्टम जडान गरिने समेत बताएका छन् ।
उनले सेवाग्राहीलाई आवश्यक परेका बेला तत्काल र सहजरुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले ट्रयाकिङ सिस्टम जडान कार्य सुरुवात गरिएको भन्दै यसका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
यस्तै मन्त्री बरालले जीपीएस ट्रयाकिङ सिस्टम जडान भएका एम्बुलेन्सहरु कुन समयमा कुन ठाउँमा छन् भन्ने एन्ड्रोइड मोबाइलबाट थाहा पाउन सकिने साथै त्यसका आधारमा नजिकको र खाली बसेको एम्बुलेन्स सेवाग्राहीले प्रयोग गर्न सक्ने बताए ।
यो प्रविधि जडान भएपछि चालकहरुले सेवा दिन आनाकानी गर्न नपाउने मन्त्रालयको विश्वास रहेको छ ।
सामाजिक विकास मन्त्रालयले एम्वुलेन्स सेवालाई सेवाग्राहीमैत्री र सूचना प्रविधिमैत्री बनाउन पहिलो चरणमा प्रदेशका १२ वटै जिल्ला समेटेर ६० वटा एम्बुलेन्समा जीपीएस ट्रयाकिङ सिस्टम जडान गरेको जनाएको छ ।