२१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सिंहदरबारमा बसेको निर्देशक समितिको दोस्रो बैठकमा मुख्यसचिव डा. सोमलाल सुवेदी नेतृत्वको संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना समितिलाई प्रशासनिक पुनर्संरचनाको खाका तत्काल पेश गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयन गरेर तीन तहको निर्वाचन गराउन डेढ वर्ष पनि समय नरहेकाले प्रशासनिक पुनर्संरचनाको खाका तयार पार्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन मन्त्री र सचिवहरुलाई आग्रह गर्दै अर्को बैठकमा छलफल गर्ने गरी मस्यौदा पेश गर्न निर्देशन दिएका छन् ।
मुख्य सचिवको संयोजकत्वमा विभिन्न समूह बनाएर संघीय संरचनामा प्रशासनको खाका निर्माणको काम भइरहेको छ । अघिल्लो सरकारले मन्त्रालयहरुको संघीय संरचना बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा ११ सदस्यीय संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समिति गठन गरेको थियो ।