प्रधानमन्त्रीद्वारा उदयपुर र भोजपुरलाई जोड्ने पुलको शिलान्यास

३१ भदौं ०७४, काठमाडौं । उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमा पर्ने सुनकोशी दूधकोशीमा पुल निर्माण हुने भएको छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा पुलको शिलान्यास गरेका हुन् ।

शिलान्यास  अवसरमा प्रधानमन्त्री देउवाले पुलको निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको बताउँदै  पूर्वी पहाडी क्षेत्रको यातायातको विकास र अन्य आर्थिक विकासलाई उक्त पुलले भविष्यमा ठूलो टेवा पुर्याउने र यसलाई अब सबैले सकारात्मक रुपमा लिनुपर्ने बताए ।

२२ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने पुलको लम्बाइ २०० मिटर र चौडाइ साढे दश मिटर रहने चौदण्डी पर्यटन विकास समितिका अध्यक्ष रोहित तामाङले जनाए । पुल निर्माण रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडौंले ठेक्का पाएको छ।

२०७६ साल चैतमा उक्त पुलको निर्माण कार्य पूरा हुने बताइएको छ । उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का सहभागी थिए ।

तपाइको मत