२३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको ९ दलले संविधान संशोधन राष्ट्रिय हित विपरीत भएको बताइरहँदा विपक्षी दलको आरोपको खण्डन गरेका छन् ।
शनिबार राजधानीमा आयोजित नेतृ शान्ता श्रेष्ठद्वारा लिखित संस्मरण संग्रहको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले विपक्षी एमालेसहितको ९ दलको आरोप खण्डन गर्दै संविधानको स्वीकार्यता बढाउन खोज्ने यो राष्ट्रलाई कमजोर पार्नु हो र ? भनी प्रश्न गरेका हुन् ।
‘सबैलाई समेटेर संविधानको स्वीकार्यता बढाएर संविधान कार्यान्वयन गर्न खोज्नु राष्ट्रको एकतालाई कमजोर पार्न खोज्नु हो र ?’ विपक्षी दललाई प्रश्न गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘एउटा समुदाय विशेषलाई निषेध गर्न खोज्नु, त्यसलाई धेकेलेर अन्त पठाउन खोज्नु पो राष्ट्रिय एकता विपरीत कुरा हो ।’
प्रधानमन्त्री प्रचण्डले संसद सुचारु गराउन सरकारलाई सबै पक्षले साथ दिनुपर्ने बताउँदै अवरोध हटेसँगै सदनमा संविधान संशोधन प्रस्ताव, निर्वाचन सम्बन्धि प्रस्ताव र अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउने बताए ।
उनले देशलाई पहाड र तराईका नाममा ध्रवीकरणमा लैजाने नभएर हिमाल, पहाड र तराईलाई एउटै मालामा उन्नु पर्नेमा जोड दिए ।