प्रधानमन्त्रीले आज अपरान्ह मन्त्रिपरिषद विस्तार गर्दै

११ साउन ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह मन्त्रिपरिषद विस्तार गर्दैछन् ।

प्रधानमन्त्रीको सचिवालयले अपरान्ह ४ बजे शपथ ग्रहणको कार्यक्रम राख्न राष्ट्रपतिको कार्यालयसँग समय मागेको छ ।

हिजो मंगलबार नै मन्त्रिपरिषद विस्तार गर्ने भनिए पनि कांग्रेसभित्रै देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मन्त्रालयको संख्या र मन्त्रालयको छनौटमा भागबण्डा नमिलेपछि मंगलवार ५ बजेलाई राखिएको शपथ ग्रहण रोकिएको थियो ।

लामो रस्साकस्सीपछि दुबै पक्षले चार चार तथा कृष्ण सिटौला र खुमबहादुर खडका पक्षलाई एक एक मन्त्रालय दिने सहमति भएको थियो तर कुन कुन मन्त्रालय भन्ने टुंगो अझै लाग्न सकेको छैन ।

मन्त्रालयको टुंगो लगाउन पौडेलसहित प्रधानमन्त्री निवास बालुवाटारमा विहानैदेखि छलफल चलिरहेको भए पनि केहीबेर अघिसम्म  कुनै निश्कर्ष निस्कन सकेको छैन ।

स्रोतका अनुसार देउवा पक्षले पौडेल पक्षलाई कृषि, सिचाईं, बाणिज्य, गरिबी निवारण जस्ता मन्त्रालय दिन प्रस्ताव गरेको छ तर पौडेल पक्षले भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालय आफूले पाउनु पर्ने अडान कायमै राखेको छ ।

तपाइको मत