प्रधानमन्त्रीले भिड जम्मा गरेर आफ्नै सरकारको निर्णयको समेत धज्जी उडाइरहेका छन्- अन्टुफ अध्यक्ष सिम्खडा

१३ बैशाख ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का केन्द्रीय अध्यक्ष जगत सिम्खडाले सरकार आफैंले गरेको निर्णयहरु विपरीत कार्य गरिरहेको बताएका छन् ।

बागमती प्रदेश सभा सदस्य तथा जेटीयुसीसी अध्यक्ष समेत रहेका अन्टुफ अध्यक्ष सिम्खडाले सरकारको भनाई र काम गराई ठीक विपरीत रहेको भन्दै यस्तो बताएका हुन् ।

कोभिड–१९ को संक्रमण बढिरहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र २५ जना भन्दा बढी जमघट तथा भेला नहुन सार्वजनिक अपील गरेको सरकारको प्रधानमन्त्री केपी शर्मा ओली आफैंले निर्णयहरु विपरीत कार्य गरेर धज्जी उडाइरहेको उनले बताए ।

“प्रधानमन्त्रीले सस्तो लोकप्रियताका लागि कहिले अपुरो धरहारा उद्घाटन गरेर, कहिले सरकारी निवास बालुवाटारबाट राम-सीताको रथयात्रा गरेर त कहिले पार्टीको बैठकका नाममा भिड जम्मा गरेर आफ्नै सरकारको निर्णय र कोभिड–१९ संकट व्यवस्थान केन्द्र (सीसीएमसी)को अपीलको समेत धज्जी उडाइरहेका छन्” अध्यक्ष सिम्खडाले भने ।

विश्व महामारीकारुपमा फैलिरहेको कोरोना संक्रमितको संख्या र मृत्यु दर नेपालमा पनि बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले श्रमजीवी मजदुरहरुलाई दैनिक जिविकोपार्जनका लागि सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने, फ्रन्टलाइनमा खटिने श्रमिकहरुलाई विशेष सुविधा प्रदान गर्नुपर्ने, सम्पूर्ण श्रमिकहरुलाई निःशुल्क स्वाथ्योपचारको व्यवस्था गर्नुपर्ने, स्वदेश आउन चाहने प्रवासी श्रमिकलाई क्वारेन्टाइन तथा आइसोलेसन लगायतका विविध स्वास्थ्य सुविधाको व्यवस्था गर्नुपर्ने पनि बताएका छन् ।

वर्तमान सरकार महंगी र भ्रष्टाचार नियन्त्रण गर्नुभन्दा पनि संरक्षणमा लागेको भन्दै उनले सरकारको प्रतिगामी कदमविरुद्ध अग्रगामी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

यस्तै प्रदेश महासंघ, पेशागत संगठन र सम्पूर्ण मजदुर नेतृत्वहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी अलपत्र परेका श्रमिकहरुको उद्दार र राहत कार्यमा खट्न साथै गन्तव्यसम्म पु-याउन विशेष पहल लिन आग्रह गर्दै उनले निषेधाज्ञा जारी नभएका स्थानहरुमा स्वास्थ्य मापदण्ड पालना गर्दै र निषेधाज्ञा जारी भएका स्थानहरुमा भर्चुअल माध्यमबाट बैशाख १८ गते १३२औं मई दिवस मनाउन समेत आग्रह गरेका छन् ।