प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ भने गर्न तयार छौं – प्रदीप ज्ञवाली

२१ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७३/०७४ को बजेट पारित भएसँगै सरकार परिवर्तनको हल्लाले व्यापकता पाउँदै गइरहेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता हस्तान्तरणको प्रश्नलाई ठाडै अस्वीकार गरिरहेका छन् । यस विषयमा एमालेका सचिव प्रदीप ज्ञवालीले बैशाखको तेस्रो हप्ता राष्ट्रिय राजनीतिमा अनपेक्षित तरंगहरु आएको बताएका छन् ।

एमाले सचिव प्रदीप ज्ञवाली

एमाले सचिव प्रदीप ज्ञवाली

‘एउटा मिसन बोकेको सरकारलाई मिसन पुुरा नहँदै असफल बनाउने प्रयत्न भयो’ एमाले सचिव ज्ञवालीले भनेका छन्, ‘त्यसलाई समाधान गर्न नेकपा माओवादीसँग ९ बुँदे सहमति समझदारी गरेका छौं । यसको सार मुलुकका मुख्य समस्याको समाधानका लागि संविधान निर्माणमा मुख्य भूमिका खेलेका दलहरु एक ठाउँमा आउनुपर्छ भन्ने हो । त्यसो गर्दा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ भने गर्न तयार छौं पनि भनेका छौं ।’

‘मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ कि भनेर प्रयास गरेको थिएँ, बहुमतको सरकारमा रुची नभएपछि पछाडि हटेँ प्रचण्डले भन्नुभएको छ ।’ प्रचण्डलाई उदृत गर्दै ज्ञवालीले भने, ‘अहिले प्रचण्डबाट हामी केही कुरामा स्पष्ट हुन खोजिरहेका छौं । पहिलो, उहाँको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था छ कि छैन ? दोस्रो, छैन भने बहुमतको सरकारको नेतृत्व गर्न उहाँ इच्छुक हो कि होइन । तेस्रो, कुनै एजेन्डाबिना खाली प्रधानमन्त्री फेर्नुको औचित्य के ? यो प्रष्ट भएपछि मात्रै लिखित वा भद्र सहमतिको सबै यथार्थ सार्वजनिक हुन्छ भन्ने मलाई लाग्छ ।’

‘प्रचण्डलाई प्रधानमन्त्री बनाए अहिलेको भन्दा तात्विक के फरक हुन्छ ? कांग्रेस सरकारमा आउन तयार हुन्छ ? वार्तामा बोलाउँदा पनि बाहिर बसिरहेका मधेसी दलहरु समस्या समाधान गर्न तयार हुन्छन् ? नेपालमा कोर्स करेक्सन गर्नुपर्छ भनेर चल्ने दिल्लीका छलफलहरु यो सरकार परिवर्तनले अन्त्य गर्छ ? यी प्रश्हनहरुको जवाफ नभई सरकार परिवर्तनका कुराले जनतालाई निराश बनाउँछ ।’ विगतका पीडादायी स्थितिकै पुनरावृत्ति हुन्छ ।’ एमाले सचिव ज्ञवालीले भनेका छन्, ‘आज एउटा सार्वभौम राष्ट्रको हैसियतले नेपाल आफ्नो निर्णय आफैं गर्न स्वतन्त्र छ, छिमेकीहरुसँग सन्तुलित सम्वन्ध कायम गर्न स्वतन्त्र छ, कुन परियोजना आफैं गर्ने र कुनमा विदेशी लगानी भित्र्याउने भनेर छनोट गर्न स्वतन्त्र छ भन्ने भावनाको प्रतिनिधित्व यो सरकारले गर्छ । सरकारका कमजोरी होलान्, आलोचना गर्ने ठाउँ होलान्, तर, यो सरकारप्रतिको जनसमर्थन यही विशेषताको जगमा उभिएको छ । यसलाई कमजोर बनाउने प्रयास अनेकौं ढंगले भइरहेको छ ।’ अनलाइनखबरमा प्रदीप ज्ञवालीको अन्तार्वार्ता छ ।

तपाइको मत